अमेरिकी युद्धपोतमाथि विनाशकारी आक्रमण गर्ने क्षमता रहेको दाबी, विदेशी सेना प्रवेश गरे ‘मृत्युको मैदान’ बन्ने
काठमाडौँ, १४ कात्तिक । अमेरिका र इजरायलसँगको युद्ध पुनः चर्किन सक्ने आशंकाबीच इरानले आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इरानी सैन्य अधिकारीहरूले अमेरिकी युद्धपोतमाथि विनाशकारी आक्रमण गर्न सक्ने क्षमता रहेको दाबी गर्दै इरानी भूमिमा प्रवेश गर्ने विदेशी सेनाले गम्भीर सैन्य प्रतिरोधको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का राजनीतिक मामिलासम्बन्धी उपप्रमुख ब्रिगेडियर जनरल यदोल्लाह जवानीले अमेरिकी वा इजरायली आक्रमण जुनसुकै बेला हुन सक्ने आकलनका आधारमा इरानी सेना तयारी अवस्थामा रहेको बताएका छन्।
उनका अनुसार इरानले अहिले रक्षात्मक प्रतिकारमा मात्र सीमित नरही आवश्यक परे पूर्वप्रहार र आक्रामक सैन्य कारबाहीसमेत गर्न सक्ने क्षमता विकास गरेको छ। उनले अमेरिकी युद्धपोतमाथि ठूलो क्षति पुर्याउन सकिने दाबी गर्दै हवाई आक्रमण वा स्थलमार्गबाट प्रवेश गर्ने शत्रु सेनाका लागि त्यस्तो क्षेत्र ‘मृत्युको मैदान’ बन्ने चेतावनी दिएका छन्।
जवानीको भनाइलाई नोभेम्बर १ मा अलजजिराले इरानको अर्धसरकारी समाचार संस्था फार्सलाई उद्धृत गर्दै सार्वजनिक गरेको छ।
कूटनीतिक वार्ता जारी, तर युद्धको सम्भावना कायमै
सैन्य चेतावनीसँगै इरानले कूटनीतिक वार्ताको ढोका पनि खुला राखेको छ। अमेरिका र इरानबीच जारी तनाव कम गर्न कतारले मध्यस्थताको प्रयास गरिरहेको छ। इरानी वार्ताकारहरू नोभेम्बर १ मा लगातार तेस्रो दिन कतारको राजधानी दोहामा कतारी मध्यस्थकर्ताहरूसँग छलफलमा सहभागी भएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार वार्ताको उद्देश्य अमेरिका–इजरायल र इरानबीच आठ महिनादेखि जारी युद्ध अन्त्य गर्ने सहमति खोज्नु हो। कतारी मध्यस्थकर्ताहरूले यसअघि शुक्रबार तेहरान पुगेर इरानी अधिकारीहरूसँग छलफल गरेका थिए। त्यसपछि वार्तालाई दोहामा निरन्तरता दिइएको हो। छलफल अमेरिकी अधिकारीहरूसँगको नियमित सम्पर्क र समन्वयमा भइरहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। यद्यपि उनले तत्काल सम्झौता गर्नुपर्ने दबाब आफूलाई नरहेको संकेत दिएका छन्। अमेरिकाले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि नयाँ आक्रमण नगर्ने ट्रम्पको भनाइ रहेको रोयटर्सले उल्लेख गरेको छ। तर निर्वाचनपछि सैन्य कारबाहीको सम्भावना भने उनले पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानमाथि पुनः आक्रमण गर्ने विषयमा राष्ट्रपतिले अहिलेसम्म निर्णय नगरेको बताएका छन्। कूटनीतिक माध्यमबाट विवाद समाधान गर्नु अमेरिकी प्रशासनको प्राथमिकता रहेको उनको भनाइ छ।
होर्मुज जलडमरुमध्य खोल्ने विषय वार्ताको केन्द्रमा
इरानका विदेशमन्त्री अब्बास अराग्चीले होर्मुज जलडमरुमध्य पुनः सञ्चालन गर्ने विषयमा मध्यस्थकर्ताहरूसँग छलफल भइरहेको बताएका छन्। इरानले यसअघि निश्चित सर्त पूरा भए दुई दिनभित्र जलमार्ग खोल्न सकिने प्रस्ताव अघि सारेको थियो।
विश्वको प्रमुख ऊर्जा ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरुमध्यबाट विश्वको ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास ओसारपसार हुने गर्छ। यस क्षेत्रमा जारी सैन्य तनाव र आवागमनमा लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा समुद्री व्यापार प्रभावित भएका छन्।
रोयटर्सका अनुसार इरानले जलमार्ग खुला गर्ने विषयलाई आफ्ना सर्तसँग जोडेको छ। ती सर्तमा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र इरानी तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने विषयसमेत छन्। अर्कोतर्फ अमेरिकाले इरानको आणविक कार्यक्रमलाई वार्ताको सुरुदेखि नै समेट्नुपर्ने अडान राख्दै आएको छ।
अक्टोबर २८ मा रोयटर्सले प्रकाशित गरेको समाचारअनुसार कतारले युद्ध अन्त्यका लागि नयाँ सातदिने प्रस्तावसमेत इरानसमक्ष प्रस्तुत गरेको थियो। प्रस्तावमा दुवै पक्षका सरोकार सम्बोधन गर्न विश्वास निर्माण गर्ने चरणबद्ध उपाय समावेश गरिएको बताइएको छ। तर एक वरिष्ठ इरानी अधिकारीले कतारबाट आएका सुझावलाई स्वीकार गर्न नसकिने भन्दै तेहरानको आणविक नीतिमा सम्झौता नहुने स्पष्ट पारेका थिए। यसले वार्ता अघि बढे पनि दुवै पक्षबीच गम्भीर मतभेद कायम रहेको देखाउँछ।
अमेरिकी उपराष्ट्रपतिको पत्रपछि वासिङ्टनको स्वर बदलिएको इरानी दाबी
इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले तेहरान पठाएको पत्रपछि अमेरिकी प्रशासनको अभिव्यक्ति र व्यवहारमा परिवर्तन आएको दाबी गरेका छन्।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीसँगको अन्तर्वार्तामा रेजाईले आफूले पत्र प्राप्त गरी पढेको तर त्यसको जवाफ भने नदिएको बताएका थिए। उनका अनुसार अमेरिकी पक्षको स्वर पहिलेको तुलनामा नरम भएको छ, जसलाई उनले सकारात्मक संकेतका रूपमा लिएका छन्।
यद्यपि उक्त पत्रको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। त्यसैले पत्रमा के प्रस्ताव गरिएको थियो र त्यसले वार्तामा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
पुनः युद्ध भए अघिल्लोभन्दा लामो हुन सक्ने चेतावनी
इरानी सेनाले अमेरिका र इजरायलसँग पुनः युद्ध सुरु भए त्यसको दायरा र अवधि यसअघिको द्वन्द्वभन्दा ठूलो हुन सक्ने चेतावनी दिएको छ।
इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रमिनियाले अमेरिकाले पुनः आक्रमण गरे तत्काल र निर्णायक जवाफ दिइने बताएका छन्। नयाँ युद्ध सुरु भए त्यसको प्रभाव पश्चिम एसियामा मात्र सीमित नहुने उनको चेतावनी छ।
त्यस्तै, इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले पनि शनिबार सशस्त्र सेनालाई सम्भावित आक्रमणको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। त्यसपछि इरानी सेनाले आफ्नो सैन्य तयारी थप सुदृढ बनाइरहेको जनाएको छ।
ब्रुअरीदेखि सुरु भएको द्वन्द्वले क्षेत्रीय संकट चर्कायो
अमेरिका र इजरायलले सन् २०२६ फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्वमा ठूलो क्षेत्रीय द्वन्द्व फैलिएको थियो। प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित उच्च तहका अधिकारी मारिएका थिए। त्यसपछि इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो।
लगातारको सैन्य टकरावपछि अप्रिल ८ मा दुई साताका लागि युद्धविराम घोषणा गरिएको थियो। त्यसपछि पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता पनि भएको थियो। जुन महिनामा युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमति बने पनि त्यो लामो समय टिक्न सकेन। त्यसयता पटकपटक आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
अमेरिकी कंग्रेसनल रिसर्च सर्भिस तथा बेलायतको हाउस अफ कमन्स लाइब्रेरीका विश्लेषणअनुसार होर्मुज जलडमरुमध्यमा जारी अवरोध, इरानमाथिको अमेरिकी आर्थिक प्रतिबन्ध र खाडी क्षेत्रमा फैलिएको सैन्य तनाव द्वन्द्व समाधानका प्रमुख चुनौती बनेका छन्।
पछिल्लो समय यमनका हुथी विद्रोहीले साउदी अरबका ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेपछि द्वन्द्व थप जटिल बनेको छ। यसले होर्मुजसँगै बाब अल–मन्देब जलडमरुमध्यको सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिमाथि समेत चिन्ता बढाएको छ।
यसरी एकातिर अमेरिका र इरानबीच कतारको मध्यस्थतामा वार्ता जारी छ भने अर्कोतिर दुवै पक्ष सम्भावित नयाँ सैन्य टकरावका लागि तयारी गरिरहेका छन्। नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनपछि वासिङ्टनले कस्तो निर्णय लिन्छ भन्ने विषयले आगामी दिनमा मध्यपूर्वको सुरक्षा अवस्था निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
