अमेरिकाको फ्लोरिडामा निजी विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

दुर्घटनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नजिकैको ट्रेलर पार्क समुदायका करिब ६०० स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गभर्नर डिस्यान्टिस र स्थानीय अधिकारीहरूले बताएका छन्।

फ्लोरिडा, १६ कात्तिक ।  अमेरिकाको फ्लोरिडा राज्यमा आइतबार भएको भीषण निजी विमान दुर्घटनामा विमानमा सवार नौ जनाकै मृत्यु भएको अमेरिकी यातायातमन्त्री सिन डफीले बताएका छन्।

व्यापारिक प्रयोजनका लागि प्रयोग हुने लियरजेट ६० विमान फ्लोरिडाको पाम बिच काउन्टीस्थित क्रेस्टहेभन क्षेत्रको आवासीय बस्तीमा खसेको थियो। दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब नौ माइल (१४ किलोमिटर) टाढा पर्छ। स्थानीय समयअनुसार दिउँसो १२:५० बजे दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा आवासीय सडकको बीचमा ठूलो खाल्डो परेको, आगोका लप्का देखिएको तथा विमानका टुक्रा, कङ्क्रिट र अन्य भग्नावशेष छरिएको देखिन्छ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो।

दुर्घटनाअघि तीव्र गतिमा तल झर्दै थियो विमान

अमेरिकी सञ्चारमाध्यमका रिपोर्ट तथा उडानसम्बन्धी तथ्याङ्क विश्लेषणअनुसार दुर्घटनाअघि विमान असाधारण गतिमा सयौँ फिट प्रतिसेकेन्डको दरले तल झरिरहेको थियो।

दुर्घटनाको केही क्षणअघि विमान चालक र हवाई ट्राफिक नियन्त्रण कक्षबीच भएको संवादको अडियोमा पाइलटले विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको बताएको सुनिन्छ।

त्यसपछि पाइलटले आपत्कालीन अवस्थाको घोषणा गर्दै विमान प्रतिमिनेट २० हजार फिटको गतिमा झरिरहेको र अत्यधिक गतिका कारण नियन्त्रण गर्न कठिन भइरहेको जानकारी गराएका थिए।

सीबीएस न्युजका अनुसार पाइलटले नियन्त्रण कक्षसँग अन्तिम संवादमा भनेका थिए, “हामी दुर्घटनाग्रस्त हुन लाग्यौँ… अब समय छैन।”

सामाजिक सञ्जालमा सार्वजनिक भएको तर स्वतन्त्र रूपमा पुष्टि नभएको एउटा भिडियोमा सडकमा गुडिरहेका सवारीसाधनका बीच विमान लगभग ठाडो अवस्थामा जमिनतर्फ खसेको र जमिनमा ठोक्किएलगत्तै ठूलो आगोको मुस्लोसहित विस्फोट भएको देखिन्छ।

फ्लोरिडाका गभर्नर रोन डिस्यान्टिसले घटनाको भयावह दृश्यबारे प्रतिक्रिया दिँदै भने, “भिडियो हेर्दा निकै स्तब्ध बनाउने दृश्य देखिन्छ। मानौँ कुनै मिसाइल आकाशबाट खसिरहेको होस्। त्यसपछि ठूलो विस्फोट भयो र भग्नावशेष चारैतिर छरियो।”

जमिनमा रहेका मानिस हताहत भएको खबर छैन

दुर्घटनाका बेला विमानमा को–को सवार थिए भन्ने विवरण सार्वजनिक भइसकेको छैन। गभर्नर डिस्यान्टिसले तत्कालीन जानकारीअनुसार जमिनमा रहेका कुनै पनि व्यक्तिको मृत्यु वा घाइते भएको खबर प्राप्त नभएको बताएका छन्।

अमेरिकी यातायातमन्त्री सिन डफीले घटनालाई अत्यन्त दुःखद दुर्घटना भन्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न संघीय उड्डयन प्रशासनले विशेषज्ञ टोली घटनास्थल पठाइरहेको जानकारी दिएका छन्।

दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले गर्नेछ।

यसैबीच, पाम बिच काउन्टी अग्नि तथा उद्धार सेवाले घटनालाई ‘सामूहिक हताहतीको अवस्था’ घोषणा गरेको छ।

६०० स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारियो

पाम बिच काउन्टी शेरिफ कार्यालयका अनुसार दुर्घटना मिलिटरी ट्रेल नामक छ लेनको सडकमा भएको हो। उक्त सडक आसपास विभिन्न व्यापारिक प्रतिष्ठान तथा रेस्टुरेन्टहरू रहेका छन्।

दुर्घटनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नजिकैको ट्रेलर पार्क समुदायका करिब ६०० स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गभर्नर डिस्यान्टिस र स्थानीय अधिकारीहरूले बताएका छन्।

विमान खस्दा स्थानीय पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। विशेषगरी खानेपानीका पाइपलाइनहरू क्षतिग्रस्त भएका छन्। सडक पुनः सञ्चालनमा आउन कम्तीमा ३० दिन लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

दुर्घटनाका बेला उक्त क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको थियो। दुर्घटनाबारे आयोजित पत्रकार सम्मेलनका क्रममा पनि भारी वर्षा भइरहेको बताइएको छ।

दुर्घटनाभन्दा एक घण्टाअघि ट्रम्प मार–ए–लागोबाट निस्किएका थिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार बिहान आफ्नो फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा रहेका थिए। उनी दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि नजिकैको विमानस्थलबाट एयर फोर्स वनमार्फत प्रस्थान गरेका थिए।

यद्यपि, राष्ट्रपति ट्रम्पको भ्रमण र विमान दुर्घटनाबीच कुनै सम्बन्ध रहेको विवरण सार्वजनिक भएको छैन।

दुर्घटनाको वास्तविक कारण, विमानमा आएको प्राविधिक समस्या वा खराब मौसमको भूमिका थियो कि थिएन भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *