अन्तर्राष्ट्रिय समर्थन जुटाउन जेलेन्स्की बर्लिनमा

बर्लिन। रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ बनाउन अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुग्नुभएको छ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण तथा ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने जानकारी दिनुभएको छ।

युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहायता प्रदान गर्दै आएको जर्मनी उसका प्रमुख सहयोगी राष्ट्रमध्ये एक हो। जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि युक्रेनलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शान्ति वार्तालाई अघि बढाउने प्रयासस्वरूप अर्को साता अबु धाबीमा युक्रेन, रुस र अमेरिकाका अधिकारीबीच त्रिपक्षीय वार्ता हुने घोषणा गरेलगत्तै जेलेन्स्कीको जर्मनी भ्रमण भएको हो।

बर्लिनमा आयोजित सुरक्षा तथा प्रतिरक्षासम्बन्धी सम्मेलनमा पनि जेलेन्स्की सहभागी हुनुहुनेछ। सम्मेलनको उद्घाटन लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले गर्ने कार्यक्रम छ। सम्मेलनमा युक्रेन युद्ध र रुसबाट युरोपको सुरक्षामा उत्पन्न चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ।

जेलेन्स्कीले सुरक्षा, स्थिरता र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा साझा चासोको विषय भएको उल्लेख गर्दै ती सिद्धान्तलाई ठोस निर्णय र कार्यमा रूपान्तरण गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको छ।

यसैबीच, जर्मनीले नोभेम्बरको मध्यतिर युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूको समूह ‘कोएलिसन अफ द विलिङ’को बैठक आयोजना गर्ने तयारी गरेको छ। जर्मन चान्सलर मेर्जले गत साता उक्त जानकारी दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *