राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनको असर्फी र चाँदीका सिक्का बेच्ने
काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट उक्त असर्फी तथा मेडालियन बिक्री गर्न लागेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन एक–एक थान गरी बढीमा दुई थान खरिद गर्न सकिनेछ।
इच्छुक व्यक्तिले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाबाट असर्फी तथा मेडालियन खरिद गर्न सक्नेछन्। खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। असर्फी तथा मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य तय भएपछि मात्र बिक्री गरिनेछ।
