पर्यटन प्रवर्धनका लागि इलाममा पहिलो पटक चिया महोत्सव आयोजना हुँदै

१० हजार पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौँ, कार्तिक २१ । चिया पर्यटनको प्रवर्धन तथा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले इलामको कन्याममा पहिलोपटक ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ आयोजना हुने भएको छ ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा आगामी मङ्सिर ५ र ६ गते महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमार्फत चियाको उत्पादन, प्रवर्द्धन, बजारीकरण र चियासँग जोडिएको पर्यटनलाई एकैसाथ अघि बढाउने आयोजकको लक्ष्य छ ।

महोत्सव व्यवस्थापनका लागि सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाको संयोजकत्वमा गठित कार्यक्रम व्यवस्थापन समितिले तयारी तीव्र पारेको छ । समितिमा सूर्योदय नगरपालिका–७, ८ र ९ का जनप्रतिनिधि तथा स्थानीय चिया पर्यटन व्यवसायी सहभागी छन् ।

महोत्सवमा टी ट्रेल रेस प्रतियोगिता, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय खाना तथा परिकारको प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत गरिने संयोजक लामाले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षणका रूपमा ‘जलवायु परिवर्तनको सामना : दिगो चियाखेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद आयोजना गरिनेछ । अन्तरसंवादमा सङ्घीय सांसद, नेपाल सरकारका कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव र स्थानीय प्रतिनिधिको सहभागिता रहनेछ । पत्रकार बसन्त बस्नेतले सहजीकरण गर्ने कार्यक्रम तय भएको संयोजक लामाले बताउनुभयो ।

महोत्सवमा सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था गरिनेछ । स्थानीय खाद्य परिकारका कक्षसमेत राखिने महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव खेम राईले जानकारी दिनुभयो ।

यसैगरी पुरुष र महिलाका लागि छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन गरिनेछ । पुरुषतर्फ कन्याममा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको दौड हुनेछ । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई पाँच हजार रुपियाँ प्रदान गरिनेछ ।

महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक सहभागी हुने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो । महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका ७ को कन्यामदेखि वडा नं ५ स्थित श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ । महोत्सवले उक्त पदमार्गको पहिचान स्थापित गर्नुका साथै चियाखेती, स्थानीय उत्पादन र पर्यटन व्यवसायलाई जोड्ने अपेक्षा गरिएको छ ।

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम इलामको प्रमुख पर्यटकीय गन्तव्य हो । हरियाली चियाबारीले घेरिएको कन्याममा वनभोज, घोडचढी, दृश्यावलोकन तथा तस्बिर र भिडियो खिच्न दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *