तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्धन

स्थानीय उत्पादनको बजार

काठमाडौँ,  कात्तिक २१ । स्वदेशी तथा स्थानीय उत्पादनको बजार प्रवर्धन र नेपाली उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ ।

थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्घाटन गर्नुभयो । कम्पनीका प्रवक्ता माधव मिश्रका अनुसार मेला आगामी कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपाली उत्पादन, स्वदेशी उद्यम र स्थानीय वस्तुको बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको प्रवक्ता मिश्रले बताउनुभयो । उहाँका अनुसार हाल तीन दिनका लागि सञ्चालन गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।

मेलामा तिहार तथा छठ पर्वमा प्रयोग हुने परम्परागत खाद्यवस्तु, सांस्कृतिक सामग्री, कृषि उपज, हस्तकलाका सामग्रीलगायत विभिन्न स्वदेशी उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गरिएको छ ।

मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई स्वदेशी वस्तुको प्रयोगमा आकर्षित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी भई स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *