स्वदेशी फूल बिक्रीका लागि महानगरले तोक्यो ३३ स्थान, प्रतिबन्धित सामग्री बिक्री तथा भण्डारणमा कारबाही गरिने

प्लाष्टिकका ३३६ माला र १४० पुष्पगुच्छा महानगर प्रहरीद्वारा जफत

काठमाडौँ,  कात्तिक २१ । काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गरी प्लाष्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाएको अवस्थामा अनधिकृत रूपमा बिक्री भइरहेका ३३६ वटा प्लाष्टिकका माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ ।

महानगर प्रहरी बलले चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, कोटेश्वर पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराहीलगायत स्थानबाट ती सामग्री जफत गरेको हो । जफत गरिएका सामग्रीमध्ये सबैभन्दा धेरै कोटेश्वर र पानीपुरी चोक क्षेत्रमा बिक्रीका लागि राखिएका थिए ।

काठमाडौँ महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरी प्लाष्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामग्रीको बिक्री, वितरण र भण्डारणमा रोक लगाएका थिए । सार्वजनिक सूचनाको अवज्ञा गर्दै बिक्री गरिएका सामग्री जफत गरिएको महानगरले जनाएको छ ।

महानगर प्रहरी बलले बजार अनुगमनलाई प्रभावकारी बनाउन महानगरको भूगोललाई पूर्व, पश्चिम, उत्तर र मध्य गरी चार क्षेत्रमा विभाजन गरेको छ । प्रत्येक क्षेत्रमा क्षेत्रगत कमान्डर तथा विभिन्न दर्जाका प्रहरी परिचालन गरी बजारको नियमित निगरानी र अनुगमन भइरहेको महानगर प्रहरी बलले जनाएको छ ।

स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान तोकिए

प्लाष्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाएसँगै महानगरपालिकाले स्वदेशी फूलको बिक्रीलाई सहजीकरण गर्न आफ्नो क्षेत्रभित्रका ३३ स्थान तोकेको छ । ती स्थानमा किसान तथा व्यवसायीले नेपाली उत्पादनका फूल बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

स्वदेशी फूल बिक्रीका लागि तोकिएका स्थानमा एनबी सेन्टर नयाँ बानेश्वर, बिग मार्ट शङ्खमूल, आइप्लेक्स मल नयाँ बानेश्वर, सेल्सबेरी मध्यबानेश्वर, फोनेक्स टावर बत्तीसपुतली, एसी कम्प्लेक्स चाबहिल, चाबहिल गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि चाबहिल, कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौँ मल र न्यूप्लाजास्थित बज्र कम्प्लेक्स गुड मार्ट रहेका छन् ।

त्यसैगरी तीनकुने चौर, सिफल चौर, लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्मचक्र पार्क, कालीमाटी ब्याङ्क्वेट, कालीमाटीको द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल, गुणस्तर तथा नापतौल विभागतर्फको खुला क्षेत्र, हाँडीगाउँका दुई डबली, कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबुको बिग मार्ट तथा चप्पल कारखाना र बालुवाटारका बिग मार्ट पनि फूल बिक्रीका लागि तोकिएका स्थान हुन् ।

स्वदेशी फूल बिक्री गर्ने किसानलाई सहजीकरण गर्न महानगर प्रहरी बलले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आवश्यक सहयोगका लागि ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिनेछ ।

प्लाष्टिकका फूल बिक्री गरे सामान जफत र कारबाही

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) अनुसार नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाइएको उल्लेख छ । काठमाडौँ महानगरपालिकाले पनि विगतका वर्षदेखि नै यस्ता सामग्रीको कारोबारमा प्रतिबन्ध लगाउँदै आएको छ ।

सूचनाको अवज्ञा गरी प्रतिबन्धित प्लाष्टिकजन्य फूल तथा पुष्पगुच्छा आयात, बिक्री वितरण, भण्डारण वा सजावटका लागि प्रयोग गरेको पाइएमा सामग्री जफत गरिने र महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा प्रचलित आर्थिक ऐनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

तिहारमा घर, मठमन्दिर तथा सार्वजनिक स्थल सजाउन फूलको माग बढ्ने भएकाले नेपाली किसानले उत्पादन गरेका फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले महानगरपालिकाले बिक्रीस्थल तोक्दै आएको छ । महानगरपालिकाले २०८० सालदेखि तिहारका अवसरमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउन थालेको हो ।

पहिलो वर्ष भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजुको भ्याली कोल्ड स्टोर परिसरमा फूल बिक्रीको व्यवस्था गरिएको थियो । सुरुका वर्षमा व्यापारीलाई महानगरको व्यवस्थाबारे पर्याप्त जानकारी नहुँदा विभिन्न स्थानमा छरिएर फूल बिक्री गर्ने समस्या देखिएको थियो । त्यसबेला महानगर प्रहरीले व्यापारीलाई सवारीसाधनमार्फत तोकिएका बिक्रीस्थलसम्म पुर्‍याउन तथा फूल र माला ओसारपसारमा सहयोग गरेको थियो ।

नेपालमा भारत, नेदरल्यान्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, संयुक्त अरब इमिरेट्स, ताइवान र इजरायललगायत देशबाट फूल तथा पुष्पजन्य सामग्री आयात हुने गरेका छन् । आयातित वस्तुमा विभिन्न प्रजातिका बिरुवा, बीउबिजन, ताजा कट फ्लावर, बल्ब तथा ट्युबरसमेत रहेका छन् ।

स्वदेशी उत्पादनलाई आयातित फूलसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले महानगरपालिकाले बिक्रीस्थल उपलब्ध गराएको जनाएको छ । यद्यपि, पुष्प व्यवसायको दीर्घकालीन विकासका लागि उत्पादनदेखि बजारीकरणसम्मको शृङ्खला व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिन्छ । किसानलाई गुणस्तरीय बीउबिजन, प्राविधिक सहयोग, सिँचाइ सुविधा, उत्पादन सामग्री र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुका साथै फूलको भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सहयोग गर्न सके स्वदेशी पुष्प उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *