अमेरिका र डेनमार्कसँगको सुरक्षा सम्झौता ग्रिनल्याण्डको संसद्बाट अनुमोदन

एजेन्सी, १८ कात्तिक । रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक क्षेत्रस्थित ग्रिनल्याण्डको संसद्ले अमेरिका र डेनमार्कसँग भएको सुरक्षा सम्झौता अनुमोदन गरेको छ। सम्झौताले टापुमा सुरक्षा सहकार्य विस्तार गर्नुका साथै अमेरिकी सैन्य उपस्थिति बढाउने बाटो खोलेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले गत सेप्टेम्बर २२ मा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौताले ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने व्यवस्था गरेको छ। साथै, ग्रिनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकता र त्यहाँका जनताको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गरेको छ।

मंगलबार भएको संसदीय मतदानमा १६ सांसदले सम्झौताको पक्षमा मत दिएका थिए। विपक्षमा कुनै मत परेन भने सात जना सांसद अनुपस्थित रहे। अधिकांश सांसदले गत महिनाको प्रारम्भिक छलफलमै सम्झौताको समर्थन गर्ने संकेत गरेका थिए।

ग्रिनल्याण्डका विदेशमन्त्री मुट इगेडले अन्तर्राष्ट्रिय परिस्थिति अनिश्चित बन्दै गएको अवस्थामा टापुको सुरक्षा र भविष्य संरक्षणका लागि सम्झौता अनुमोदन महत्त्वपूर्ण कदम भएको बताउनुभएको छ।

ग्रिनल्याण्ड र डेनमार्क दुवैमा आवश्यक संसदीय प्रक्रिया पूरा भएपछि सम्झौता कार्यान्वयनमा आउनेछ। डेनमार्कको संसद्मा नोभेम्बर ११ मा विधेयकमाथि पहिलो छलफल हुने र दोस्रो छलफलपछि नोभेम्बर १९ मा मतदान गर्ने कार्यतालिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *