नेप्से सामान्य अंकले बढ्यो, कारोबार ७ अर्ब ४३ करोड माथि

काठमाडौं, १८ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन पनि सामान्य वृद्धि भएको बजारले त्यसलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इन्डेक्स २.६९ अंक, फ्लोट इन्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अंकले घटेको छ।

बजारमा कारोबार रकम भने उल्लेख्य बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार कित्ता सेयर ५९ हजार १८५ पटक किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयर मूल्य १२० रुपैयाँ २० पैसाले बढेर ९२१ रुपैयाँ ७० पैसा कायम भएको छ। मन्त्रिपरिषद्ले कम्पनीमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णय गरेपछि मूल्य बढेको हो। हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य साढे ११ प्रतिशत र श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको साढे ८ प्रतिशत बढेको छ। सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य भने ६.३४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। घोराही सिमेन्टको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि–इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये चारको परिसूचक बढेको छ भने नौ वटाको घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशत बढेको छ। व्यापार उपसमूह पनि एक प्रतिशतभन्दा बढीले बढ्दा जीवन बीमा र म्युचुअल फन्डको परिसूचक सामान्य वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *