इरानको जमिन मार्ग रोक्न अमेरिकाद्वारा नयाँ ‘टास्क फोर्स’ गठन, होर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव चर्कियो
काठमाडौं । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानमाथि लागू गरिएको सामुद्रिक नाकाबन्दीलाई थप विस्तार गर्दै उसको भू-भाग (जमिन) मार्फत हुने आपूर्ति मार्ग बन्द गर्न नयाँ टास्क फोर्सको स्थापना गरेको छ।
मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य गतिविधि हेर्ने सेन्टकमले शनिबार एक विज्ञप्ति जारी गर्दै इरानले जमिन मार्गबाट उन्नत हतियार र अन्य सैन्य सामग्री ओसारपसार गर्न नपाओस् भन्ने उद्देश्यले नयाँ टास्क फोर्स गठन गरिएको जनाएको हो।
‘टास्क फोर्स आइरन गेट’ ले समुन्द्रमा इरानविरुद्ध जारी कडा नाकाबन्दीलाई थप बलियो बनाउने सेन्टकमका कमाण्डर एड्मिरल ब्राड कूपरले बताएका छन्।
फ्लोरिडाको टाम्पामा मुख्यालय रहने यस टास्क फोर्सले इरानको सडक सीमा र क्यास्पियन सागर भई हुने उन्नत हतियार प्रणाली, दोहोरो प्रयोगका प्रविधि, प्रतिबन्धित सामग्री र गैरकानुनी राजस्वको ओसारपसार रोक्न अन्य अमेरिकी सरकारी निकायहरूसँग समन्वय गर्ने बताइएको छ।
पूर्व अमेरिकी उप-सहायक रक्षा मन्त्री माइकल मुल्रोयले अल जजिरासँग कुरा गर्दै यस टास्क फोर्सको मुख्य काम इरानमा कुन बाटोबाट हतियार आइरहेका छन्, तिनलाई कसरी रोक्न सकिन्छ र इरानले आफ्ना ऊर्जा उत्पादन कसरी ओसारपसार गरिरहेको छ भन्ने पत्ता लगाउनु रहेको बताएका छन्।
मुल्रोयका अनुसार यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध थप बढाउने आदेश दिएमा यिनै संरचना र आर्थिक क्षेत्रहरूलाई निशाना बनाइने सम्भावना छ। “सैन्य लक्ष्यमा केन्द्रित ‘अपरेशन एपिक फ्युरी’ जस्तो नभई, यी नयाँ निशानाहरू इरानी सरकारको लड्ने र आर्थिक स्रोत जुटाउने क्षमतालाई पूर्ण रूपमा ठप्प पार्न आर्थिक तथा पूर्वाधार क्षेत्रमा लक्षित हुनेछन्,” उनले भने।
यसैबीच, सेन्टकमले शनिबार छुट्टै विज्ञप्ति जारी गर्दै ओमानको खाडीमा एक व्यापारिक जहाजलाई असक्षम (डिसेबल) पारिदिएको जनाएको छ। सेन्टकमका अनुसार सेन्टकिट्सको झण्डा बोकेको एम/भी हुडा नामक जहाजका चालक दलका सदस्यहरूलाई लक्षित ठाउँ छाड्न निर्देशन दिएपछि अमेरिकी सैन्य विमानले जहाजको पछिल्लो भागमा सटीक आक्रमण गरेको थियो।
गत जुलाईदेखि सुरु भएको यो कारबाही यता हालसम्म नियम पालना गर्ने १४७ वटा व्यापारिक जहाजको बाटो मोडिएको र निर्देशन अस्वीकार गर्ने ५ वटा व्यापारीक जहाजलाई अमेरिकी सेनाले आक्रमण गरी असक्षम बनाएको छ।
होर्मुज जलडमरूमध्य क्षेत्रमा विस्फोटको खबर
यसैबीच, इरानको आधिकारिक समाचार संस्था ‘इर्ना’ ले शनिबार होर्मुज जलडमरूमध्य नजिकै रहेको केश्म दीप मा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको जनाएको छ। यसका साथै जास्क, सिरिक र बन्दर अब्बास सहरहरूमा पनि शृङ्खलाबद्ध विस्फोटका आवाज सुनिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केश्म दीपमा नयाँ आक्रमण भएको पुष्टि गरे तापनि त्यसलाई “सामान्य” भनेका छन्। कतारी मध्यस्थतामा वार्ता जारी रहेकाले तेहरान अझै पनि सम्झौताको पक्षमा रहेको ट्रम्पको दाबी छ।
अर्कोतर्फ, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) नेभीले शनिबार होर्मुज जलडमरूमध्य नजिकै दुईवटा तेल ट्याङ्कर समुद्री माइन सँग ठोक्किएर क्षतिग्रस्त भएको जनाएको छ। इरानी सरकारी टेलिभिजनका अनुसार नेभिगेसन सिस्टम बन्द गरेर ‘असुरक्षित’ क्षेत्रबाट अघि बढेका ती ट्याङ्करहरू माइनमा ठोक्किएपछि गम्भीर क्षति भई रोकिएका छन्।
