घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने तयारी
चितवन, २३ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
पहिरो पन्छाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले जानकारी दिए। पहिरोका कारण राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
