बिदामा पनि विद्यार्थीको पढाइको चिन्ता : घरघरमै पुग्यो जामुनाखर्क माविको टोली
काठमाडौँ, कार्तिक २३ । दसैँ तिहारको लामो बिदामा विद्यार्थीले पढाइलाई निरन्तरता दिएका छन् कि छैनन् ? घरमा अध्ययनका लागि अनुकूल वातावरण छ कि छैन ? अभिभावकले बालबालिकाको सिकाइप्रति कति चासो राखेका छन् ? यिनै प्रश्नको जवाफ खोज्दै म्याग्दीको बेनी नगरपालिका ६, अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालय घरदैलोमा पुगेको छ ।
विद्यालयले नियमित कक्षाकोठाबाहिर पनि विद्यार्थीको सिकाइप्रति चासो राख्दै बिदाको समयमै विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष संवाद गर्ने अभ्यास थालेको हो । कात्तिक १ गतेदेखि सञ्चालन गरिएको अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत विद्यालयको सेवा क्षेत्रका विभिन्न बस्तीमा पुगेर विद्यार्थीको अध्ययन अवस्था, गृहकार्य, घरायसी गतिविधि र पारिवारिक शैक्षिक वातावरणबारे जानकारी लिइएको छ ।
विद्यालय र अभिभावकबीच सहकार्य बढाउन दसैँ–तिहार बिदामै विद्यार्थीको पढाइ, गृहकार्य र पारिवारिक शैक्षिक वातावरणको अनुगमन
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक तथा पूर्वविद्यार्थीको प्रतिनिधित्व रहेको टोलीले विद्यार्थीका घरमै पुगेर उनीहरूले बिदाको समय कसरी बिताइरहेका छन् भन्नेबारे जानकारी लिएको शिक्षक गणेश केसीले बताउनुभयो । विद्यार्थीले गृहकार्य पूरा गरे नगरेको, घरमा पढ्ने समय छुट्याए नछुट्याएको र चाडपर्वका अवसरमा व्यवहारिक तथा जीवनोपयोगी सीप सिकिरहेका छन् कि छैनन् भन्ने विषयमा समेत छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।
घरदैलोका क्रममा टोलीले विद्यार्थी र अभिभावकलाई अध्ययनलाई निरन्तरता दिन सुझाव तथा परामर्श दिनुका साथै बालबालिकाको सिकाइमा परिवारको भूमिका र विद्यालयसँगको सहकार्यका विषयमा अन्तरक्रिया गरेको छ । अभिभावकले पनि आफ्ना अनुभव, समस्या र सुझाव राखेका थिए । विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि अघि सारेका योजना तथा प्रयासबारे अभिभावकलाई जानकारी गराएको थियो ।
विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन कक्षाकोठाको शिक्षण मात्र पर्याप्त नहुने बताउनुभयो । उहाँका अनुसार बालबालिकाले घरमा बिताउने समय, अध्ययन गर्ने वातावरण र अभिभावकको चासोले उनीहरूको शैक्षिक उपलब्धिमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले विद्यालयले घरपरिवारसँगको सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिएको हो ।
सामान्यतया विद्यालय सञ्चालन भइरहेका बेला विद्यार्थीको पढाइ र प्रगति मूल्याङ्कन गरिने भए पनि बिदाकै समयमा घरघरमा पुगेर उनीहरूको अवस्था बुझ्ने अभ्यासले सिकाइका चुनौती पहिचान गर्न सहयोग पुग्ने विद्यालयको अपेक्षा छ । यसबाट विद्यार्थीको पढाइमा देखिएका कमजोरी समयमै पहिचान गरी विद्यालय र परिवार दुवै पक्षबाट सुधारका प्रयास गर्न सकिने विश्वास गरिएको छ ।
कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाको उत्साहजनक सहभागिता रहेको शिक्षक केसीले बताउनुभयो । घरदैलोबाट विद्यार्थीको अध्ययनप्रति अभिभावकको चासो बढाउनुका साथै विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक पक्ष सुधारका लागि आवश्यक सुझावसमेत सङ्कलन भएको उहाँको भनाइ छ ।
विद्यालयको सेवा क्षेत्रका अधिकांश बस्तीमा पुगिसकेको टोलीले बाँकी स्थानमा पनि भेटघाटलाई निरन्तरता दिने जनाएको छ । भेटघाटका क्रममा प्राप्त सुझावलाई विद्यालयको आगामी योजना र सुधारका कार्यक्रममा समेटेर कार्यान्वयन गरिने विद्यालयले जनाएको छ ।
विद्यार्थीको सिकाइ विद्यालयको जिम्मेवारी मात्र नभई घरपरिवार र समुदायको साझा दायित्व हो भन्ने सन्देशसहित जामुनाखर्क माविले थालेको यो अभ्यासले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई औपचारिक भेटघाटमा सीमित नराखी बालबालिकाको शैक्षिक विकाससँग जोड्ने प्रयास गरेको छ ।
