सिँचाइ अभावले डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेन

हिउँदे खेती

काठमाडौँ, कार्तिक २३ । सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमी अवस्थाका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन । बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद सुरु भएसँगै पर्याप्त पानी र बाली संरक्षणको समस्या देखाउँदै अधिकांश खेतबारी बाँझै राख्ने गरेका छन् ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा १९ हजार २६८ हेक्टर खेतीयोग्य जमिन रहेकामा १० हजार १९२ हेक्टरमा मात्रै खेती भइरहेको छ । खेती भइरहेको कुल क्षेत्रफलमध्ये छ हजार ८९९ हेक्टरमा सिँचाइ सुविधा छैन भने तीन हजार २९३ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

खेती भइरहेको जमिनको ६८ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा छैन, हिउँदमा अधिकांश खेतबारी बाँझै

यसअनुसार खेती भइरहेको जमिनको करिब ६८ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा नहुँदा हिउँदे बाली लगाउन किसानलाई समस्या भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामसिंह बोहराले जानकारी दिनुभयो । पर्याप्त पानीको अभावमा बाली सुक्ने र चिसो तथा शीतका कारण उत्पादनमा क्षति पुग्ने जोखिमले किसान हिउँदे खेतीप्रति आकर्षित हुन नसकेको उहाँको भनाइ छ ।

आलिताल गाउँपालिकाका किसान जोगराज भट्ट बर्खायाममा विभिन्न बाली तथा तरकारी खेती गरे पनि हिउँदमा भने खेतबारी बाँझै राख्न बाध्य हुनुहुन्छ । सिँचाइको व्यवस्था नहुँदा हिउँदमा लगाएको बाली हुर्काउन कठिन हुने र चिसोका कारण उत्पादनमा क्षति पुग्ने जोखिम रहने उहाँले बताउनुभयो ।

“हिउँदमा सागसब्जी राम्रोसँग सप्रिँदैनन् । शीतले बोटबिरुवा मर्ने समस्या हुन्छ । सिँचाइको सुविधा पनि छैन । लगाएको बालीबाट उत्पादन हुने सुनिश्चितता नहुँदा जमिन बाँझै छाड्ने गरेको छु”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार डडेल्धुराका पहाडी क्षेत्रमा हिउँदे खेती गर्ने चलन तुलनात्मक रूपमा कम छ । सिँचाइको अपर्याप्तता र चिसो मौसममा बाली संरक्षण गर्नुपर्ने चुनौतीका कारण किसानले हिउँदे खेतीलाई प्राथमिकता दिन नसकेको उहाँले बताउनुभयो ।

हिउँदमा कति क्षेत्रफल जमिन बाँझो रहने गरेको छ भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्लाका अधिकांश क्षेत्रमा खेतीयोग्य जमिन पूर्ण रूपमा उपयोग हुन नसकेको प्रमुख पनेरुले जानकारी दिनुभयो । हिउँदे खेती विस्तारका लागि सिँचाइ सुविधा बढाउनुका साथै स्थानीय हावापानी र भूगोलअनुकूल बाली छनोट गर्नुपर्ने उहाँको सुझाव छ । शीत तथा बालीमा लाग्ने विभिन्न रोगबाट जोगाउने प्रविधि अपनाउन सके किसानलाई हिउँदे खेतीतर्फ आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

खेतीयोग्य जमिनको ठूलो हिस्सा पूर्ण रूपमा उपयोग हुन नसक्दा कृषि उत्पादन र किसानको आम्दानी बढाउने सम्भावनासमेत खुम्चिएको छ । सिँचाइ आयोजना विस्तार, वर्षायामको पानी सङ्कलन तथा संरक्षण र स्थानीय मौसमअनुकूल बाली खेतीलाई प्राथमिकता दिन सके हिउँदमा बाँझो रहने जमिनलाई उत्पादनमूलक बनाउन सकिने देखिन्छ । यसका लागि सिँचाइ पूर्वाधारसँगै बाली संरक्षण र प्राविधिक सहयोग विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *