हसिनाले मागिन् नयाँ पासपोर्ट, डिसेम्बरमा बंगलादेश फर्किने तयारी
काठमाडौं, २४ कात्तिक । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको निर्वासनबाट स्वदेश फर्किने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) माग गरेकी छन् ।
रोयटर्सका अनुसार हसिनाका कानुनी प्रतिनिधिले सोमबार नयाँदिल्लीस्थित बंगलादेशी उच्चायोगलाई पत्र पठाउँदै नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराउन अनुरोध गरेका हुन् । सन् २०२४ मा बंगलादेश छाडेपछि हसिनाले गरेको यो पहिलो प्रत्यक्ष औपचारिक पहल भएको बताइएको छ।
हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने बताउँदै आएकी छन् । उनले रोयटर्ससँग स्वदेश फर्किएपछि अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी छन् । उनका सहयोगीहरूले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि फर्किने मिति सार्वजनिक गरिने बताएका छन्।
हसिनाका लन्डनस्थित कानुनी प्रतिनिधिले उनको पुरानो बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र रद्द गरिएको जानकारी आएको भन्दै नयाँ कागजात जारी गर्न आग्रह गरेका हुन् । पत्रमा बंगलादेशी नागरिकका रूपमा प्राप्त अधिकारका आधारमा आवेदनलाई शीघ्र प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।
तर बंगलादेश सरकारले उनको माग अस्वीकार गरेको छ। गृह मन्त्रालयले हसिनाले नयाँ राहदानी र परिचयपत्र लिन कानुनी रूपमा योग्य छन् कि छैनन् भन्ने विषयमा अध्ययन गरिरहेको बताएको छ। सरकारले उनलाई फरार अभियुक्त र आतंकवादीको संज्ञा दिँदै भारतसँग रहेको सुपुर्दगी सन्धिअनुसार हसिनालाई बंगलादेश फिर्ता गर्न माग गर्दै आएको छ।
भारतमा शरण लिएर बसेकी हसिनालाई बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ को नोभेम्बरमा अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो। सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको दमनका क्रममा भएको हिंसाका लागि उनलाई जिम्मेवार ठहर गरिएको थियो। संयुक्त राष्ट्रसंघको अनुमानअनुसार उक्त आन्दोलन र त्यसपछिको हिंसामा करिब १ हजार ४ सय जनाको मृत्यु भएको थियो। हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन्।
सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको व्यापक जनआन्दोलनपछि हसिनाको लामो शासन अन्त्य भएको थियो। त्यसपछि उनी भारतमा बस्दै आएकी छन्। उनको राजनीतिक दल अवामी लिगमाथि पनि प्रतिबन्ध लगाइएको छ।
हसिनाको सम्भावित स्वदेश फिर्तीले बंगलादेशमा पुनः राजनीतिक तथा कानुनी तनाव बढ्न सक्ने आकलन गरिएको छ। अर्कोतर्फ, उनको फिर्तीले बंगलादेश र भारतबीच पछिल्लो समय बिग्रिएको सम्बन्धमा समेत प्रभाव पार्न सक्ने बताइएको छ।
हसिना बंगलादेशका संस्थापक तथा पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन्। उनी सन् १९९६ देखि २००१ सम्म र पुनः सन् २००९ देखि २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री थिइन्।
