पुष्पखेतीबाट स्वरोजगार बन्दै डडेल्धुराका युवा

व्यावसायिक पुष्प खेती

काठमाडौँ, कार्तिक २४ । कम लगानीमा राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएपछि डडेल्धुराका युवा व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका आधा दर्जनभन्दा बढी युवा सयपत्री फूलखेतीमा संलग्न भई स्वरोजगार बन्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्‍याइरहेका छन् ।

अजयमेरु गाउँपालिका ५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि व्यावसायिक पुष्पखेती सुरु गर्नुभएको हो । कृषि प्राविधिक शिक्षा अध्ययन गर्नुभएका उहाँले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचका साथ सयपत्री फूलखेती सुरु गर्नुभएको थियो । सुरुआती दिनमा गाउँबाट डोकोमा फूल बोकेर सदरमुकामसम्म पुर्‍याई बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले ग्राहक घरमै आएर फूल खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

पाठकले स्थानीय जातका सयपत्रीसँगै ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आउनुभएको छ । कृषि ज्ञान केन्द्रबाट टनेल तथा गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग प्राप्त गर्नुभएका उहाँले दसैँ र तिहारको समयमा डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार फूलको माला प्रतिगोटा रु एक सयदेखि दुई सय र फूल प्रतिकिलो रु चार सयदेखि पाँच सयसम्ममा बिक्री हुने गरेको छ । एक सिजनमा रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

यसैगरी, अमरगढी नगरपालिका १ डोलाका सुरत ऐर पनि पाँच वर्षदेखि पुष्प व्यवसायमा संलग्न हुनुहुन्छ । कृषि विषयमा स्नातकोत्तर अध्ययनरत उहाँले करिब डेढ रोपनी जमिनमा सयपत्री फूलखेती गर्नुभएको छ । विदेश जानुभन्दा आफ्नै गाउँमा उद्यम गरेर आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसाय सुरु गर्नुभएका ऐरका लागि अहिले पुष्पखेती परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ । उहाँले स्थानीय उत्पादनको प्रयोग र बजार प्रवर्द्धनमा जोड दिनुभएको छ ।

पर्शुराम नगरपालिका ४ कटालका चक्रसिंह मालले पनि चार वर्षअघि तीन रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गर्नुभएको हो । उहाँले ‘कर्मा ५५५’ जातको फूल उत्पादन गरी दसैँ, तिहार र छठ पर्वका अवसरमा डडेल्धुरादेखि धनगढीसम्म बिक्री गर्दै आउनुभएको छ ।

पुष्पखेतीबाट आम्दानीको सम्भावना देखिए पनि व्यवसायमा संलग्न किसानले बीउ, सिँचाइ र बजार व्यवस्थापनमा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । विशेषगरी बजारमा प्लास्टिकका कृत्रिम माला भित्रिँदा स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको उनीहरूको गुनासो छ । पुष्प व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्न स्थानीय सरकारले पर्याप्त प्राथमिकता, प्रोत्साहन र सहयोग दिन नसकेको उनीहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र डडेल्धुराले भने पुष्पखेती प्रवर्द्धनका लागि बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग विस्तार गर्न सके पुष्प व्यवसायले युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सक्छ । उहाँले पुष्पखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न किसानलाई प्रोत्साहन र सहजीकरण आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *