विपद् सूचना प्रणाली स्थानीय तहसम्म विस्तार गरिने
काठमाडौँ, मङ्सिर १ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लास्तरसम्म विस्तार गर्ने योजना अघि बढाएको छ । विपद्सम्बन्धी सूचना तथा तथ्याङ्कलाई एकीकृत गरी प्रभावकारी व्यवस्थापन र निर्णय प्रक्रियामा उपयोग गर्ने उद्देश्यले यस्तो योजना अघि बढाइएको हो ।
टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत आज आयोजित प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्राधिकरणले सञ्चालन गरिरहेको एकीकृत डाटा पोर्टललाई विस्तार गरी बृहत् विपद् सूचना प्रणालीका रूपमा विकास गरिने बताउनुभयो ।
‘अनुकूलन र क्षति तथा नोक्सानीका लागि अझ राम्रो दिगो विकास लक्ष्यसम्बन्धी तथ्याङ्क’ विषयक छलफलमा उहाँले हाल सञ्चालनमा रहेको विपद् पोर्टलबाट नेपालमा हुने अधिकांश प्रकोपका घटना र त्यससम्बन्धी तथ्याङ्क प्राप्त गर्न सकिने जानकारी दिनुभयो । उक्त तथ्याङ्कलाई निर्णय सहयोग प्रणाली (डिसिजन सपोर्ट सिस्टम–डिएसएस) मा समेत प्रयोग गरिँदै आएको उहाँले बताउनुभयो ।
कार्यकारी प्रमुख उप्रेतीका अनुसार स्थानीय तहमा सङ्कलन गरिएका विपद्सम्बन्धी तथ्याङ्क जिल्लामार्फत केन्द्रमा प्राप्त हुने गरेको छ । विपद् पोर्टल राष्ट्रिय अनुकूलन योजना (नेसनल एडाप्टेसन प्लान–एनएपी) कार्यान्वयनका लागि समेत उपयोग भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले विपद्को अवस्था, प्रभावित नागरिकको सङ्ख्या र प्रकोपबाट भएको क्षतिको विवरण प्राप्त गर्न पोर्टलले सहयोग पुर्याइरहेको बताउँदै आगामी दिनमा सेतु एपलाई समेत यसमा एकीकृत गरी बृहत् विपद् सूचना केन्द्रका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।
हाल प्राधिकरणको विपद् पोर्टलमा विपद्का घटना, जोखिम तथा क्षतिसम्बन्धी विवरण उपलब्ध हुँदै आएको छ । सेतु एपलाई समेत पोर्टलमा जोडिएपछि विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क एकीकृत रूपमा प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।
दिगो विकास लक्ष्य (एसडिजी) प्याभिलियनमा आयोजित उक्त छलफल संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडिआरआर), विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को आयोजनामा भएको थियो ।
