नमोबुद्ध जात्रा आजदेखि

बनेपा (काभ्रे), ७ मङ्सिर । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ।

राजकुमार महासत्त्वले भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको धार्मिक किंवदन्तीसँग जोडिएको जात्रा कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो।

जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको छ। भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा गरिनेछ।

किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व दाजुहरूसँग वनबिहारमा गएका बेला गन्धमान पर्वतको जङ्गलमा भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु भेटिएका थिए। भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेकी थिइन्।

बघिनी र डमरुको अवस्था देखेर द्रवित भएका महासत्त्वले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसेका थिए। बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नै शरीरमा चोट पुर्याई रगत बगाएको र पछि शरीरको मासु अर्पण गरेर बघिनी तथा पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ।

महासत्त्वले देह त्याग गरेपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ। यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले चिनिन थालेको मानिन्छ। राजकुमार महासत्त्वको त्याग र करुणाको स्मरणमा प्रत्येक वर्ष नमोबुद्ध जात्रा आयोजना हुँदै आएको छ।

जात्राका अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन्। यस वर्ष मेलामा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले बताउनुभयो।

उहाँका अनुसार दर्शनार्थीको सहजताका साथै यातायात व्यवस्थापन, सरसफाइ र शान्ति सुरक्षाका लागि नगरपालिका, नमोबुद्ध गुठी तथा स्थानीय सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको छ।

जात्रामा काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *