सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा भ्रम र विकृति फैलाइरहेको छ : शंकर पोखरेल
काठमाडौँ, ६ मङ्सिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा भ्रम र विकृति फैलाइरहेको बताउनुभएको छ ।
काठमाडौँको टोखा नगर कमिटीले नेपाल संवत् ११४७ तथा मौलिक पर्वका अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सूचना प्रविधिको दुरुपयोगले मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यतामाथि चुनौती थपिएको बताउनुभयो ।
प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट उत्पन्न विकृति नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै पोखरेलले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले वर्तमान सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोपसमेत लगाउनुभयो । सरकारको प्रमुख दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसार काम हुन नसकेको उहाँको टिप्पणी थियो ।
नेपाल संवत् ११४७ को शुभकामना दिँदै पोखरेलले शङ्खधर साख्वाले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउन गरेको योगदानको स्मरण गर्नुभयो ।
मौलिक चाडपर्व, संस्कृति र परम्पराको संरक्षणले राष्ट्रिय एकता बलियो बनाउने उहाँको भनाइ थियो ।
