देवघाटधामको धार्मिक पर्यटन प्रवर्धन गर्न गण्डकी परिक्रमा महोत्सव सुरु
काठमाडौँ, मंसिर ७ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु भएको छ । नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा महोत्सव आयोजना गरिएको हो । वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै देवघाट क्षेत्रको भौतिक विकासमा सहयोग पुर्याउने लक्ष्य महोत्सवले लिएको कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
महोत्सवअन्तर्गत देवघाटधामको पूर्ण परिक्रमा गर्ने गरी २६ किलोमिटर लामो पदयात्रा सञ्चालन हुनेछ । तनहुँ, चितवन र नवलपुरका विभिन्न धार्मिक तथा सांस्कृतिकस्थल समेटिएको परिक्रमा यात्रामा विगतदेखि नै उल्लेख्य जनसहभागिता हुँदै आएको छ ।
देवघाटको वेणी सङ्गमबाट सुरु हुने यात्रामा तनहुँतर्फ पशुपतिनाथ, गङ्गा, सिद्धेश्वर, दुर्गा पाञ्चायन, विद्येश्वर, रामेश्वर र हरिहर मन्दिरलगायत धार्मिकस्थलको परिक्रमा गरिनेछ ।
त्यसैगरी, चितवनतर्फ सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला, राधाकृष्ण मन्दिर, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, बागेश्वरी मन्दिर, गणेशस्थान, बौद्ध गुम्बा, गौरेश्वर शिव मन्दिर र नारायणगढका विभिन्न धार्मिकस्थल समेटिनेछन् ।
नवलपुरतर्फ गैँडाकोटको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, निम्बार्काचार्य दर्शन केन्द्र र लक्ष्मीनृसिंह दिव्यधाम हुँदै केलादी क्षेत्र र हर्दीसम्म परिक्रमा गरिने कार्यक्रम छ ।
त्यहाँबाट तनहुँको देवपुरस्थित साँढेबगर बौद्ध गुम्बा र भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर परिक्रमा समापन हुनेछ । तीन जिल्लाका धार्मिकस्थललाई एउटै पदमार्गमा जोड्ने यस महोत्सवले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय धार्मिक सम्पदाको पहिचान र संरक्षण तथा धार्मिक सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुग्ने आयोजकको अपेक्षा छ ।
महोत्सवको पूर्वसन्ध्यामा आइतबार देवघाटमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो ।
