चार संसदीय समितिको बैठक आज, विभिन्न विधेयकमा छलफल हुँदै
काठमाडौं, ७ मङ्सिर । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज सोमबार बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफलका साथै विज्ञ र सम्बन्धित निकायका पदाधिकारीसँग परामर्श गर्ने कार्यसूची रहेको छ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। साथै, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्तासँग पनि छलफल गरिनेछ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विज्ञहरूसँग छलफल हुने कार्यसूची छ। बिहान ११ बजे बस्ने उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मन्त्रालयका सचिव र सम्बन्धित विज्ञहरूलाई आमन्त्रण गरिएको छ।
महिला तथा सामाजिक मामिला समितिको बैठक भने बिहान १० बजे बस्नेछ। बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि संशोधनकर्तासहित दफावार छलफल गरिनेछ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि छलफल हुनेछ। बिहान ११ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षलाई आमन्त्रण गरिएको छ।
