वैकुण्ठ चतुर्दशी पर्व आज मनाइँदै
वैकुण्ठ चतुर्दशी
काठमाडौँ, मङ्सिर ७ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज देशभर स्नान, दान, जप तथा ध्यान गरी मनाइँदैछ । यस अवसरमा नदी तथा तीर्थस्थलमा स्नान गरी भगवान् विष्णुको पूजा, आराधना र नामस्मरण गर्ने धार्मिक परम्परा छ ।
धार्मिक मान्यताअनुसार यस दिन नदीमा स्नान गरी जप, ध्यान र दान गर्दा पुण्य प्राप्त हुने तथा आपत् विपत्बाट मुक्ति मिल्ने विश्वास गरिन्छ । पर्वका अवसरमा भगवान् विष्णुको पूजा गरी रातभर जाग्राम बस्ने चलनसमेत छ ।
वैकुण्ठ चतुर्दशीको सम्बन्ध भगवान् शिव र विष्णु दुवैसँग रहेको मानिन्छ । शिवसँग सम्बन्धित चतुर्दशीलाई शिववैकुण्ठ र विष्णुसँग सम्बन्धित चतुर्दशीलाई विष्णु वैकुण्ठ भन्ने गरिन्छ । यस दिनलाई हरि र हर अर्थात् भगवान् विष्णु र शिवको मिलन उत्सवका रूपमा पनि मनाइन्छ ।
पौराणिक मान्यताअनुसार हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णुले आफ्नो कार्यभार भगवान् शिवलाई सुम्पनुभएको थियो । आजका दिन भगवान् शिवले पुनः विष्णुलाई कार्यभार हस्तान्तरण गरी कैलाश फर्कनुभएको विश्वास गरिन्छ । यसैगरी, आजकै दिन भगवान् विष्णु वैकुण्ठधाम प्रस्थान गर्नुभएको धार्मिक विश्वास पनि रहेको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो ।
वैकुण्ठ भगवान् विष्णुका अनेक नाममध्ये एक हो । महाभारतको शान्ति पर्वमा भगवान् विष्णुका विभिन्न नामको व्युत्पत्ति र महिमाबारे उल्लेख गरिएको छ । यस दिन विष्णुको पूजा, स्तुति र नामस्मरण गर्न नसके उहाँका नाम मात्र उच्चारण गर्दा पनि पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
महाभारतको शान्ति पर्वमा धर्मराज युधिष्ठिरले भीष्मसँग भगवान् विष्णुको महिमा र स्तुतिबारे जिज्ञासा राखेको प्रसङ्ग उल्लेख छ । भीष्मले विष्णुको स्तुति र जपबाट मानिस सम्पूर्ण दुःखबाट मुक्त हुन सक्ने उपदेश दिनुभएको वर्णन पाइन्छ । भीष्मले गरेको स्तुतिगानको स्मरणमा आजदेखि भीष्मपञ्चक पर्वसमेत सुरु हुन्छ ।
नेपालका विभिन्न धार्मिक स्थल र नदीसँग पनि भगवान् विष्णुको सम्बन्ध जोडिएको पौराणिक मान्यता छ । गण्डकी नदीको नाम भगवान् विष्णुको गणस्थलबाट रहन गएको विश्वास गरिन्छ भने काठमाडौँ उपत्यकाको विष्णुमती नदीको उत्पत्ति विष्णुपादुकाबाट भएको मानिन्छ । बूढानीलकण्ठस्थित भगवान् विष्णुको मूर्ति धार्मिक आस्था र कलात्मकताका दृष्टिले प्रसिद्ध छ ।
यस पर्वले भगवान् विष्णु र शिवप्रतिको धार्मिक आस्था, पूजा परम्परा तथा वैष्णव र शैव सम्प्रदायबीचको आध्यात्मिक सम्बन्धलाई स्मरण गराउने धार्मिक महत्व राख्छ ।
