युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह
काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्दै मुलुकको विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ ।
एमालेले गठन गरेको नेसनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले युवाहरू राजनीतिसँगै उत्पादन, उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले कृषि, सूचना प्रविधि र साना उद्योगलगायत क्षेत्रमा उद्यमशीलता विकास गरी आत्मनिर्भर बन्न युवालाई सुझाव दिनुभयो । युवा उमेर सिक्ने, ज्ञान हासिल गर्ने र काम गर्ने उपयुक्त समय भएकाले सीप विकास गरी आम्दानीका स्रोत पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा एमाले सचिव महेश बस्नेतले एमाले नेतृत्वको सरकारले विकासका क्षेत्रमा गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
त्यस्तै, नेसनल भोलिन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय एकताको संरक्षण तथा सामाजिक न्याय, समानता र समावेशिताका पक्षमा फोर्स प्रतिबद्ध रहेको बताउनुभयो ।
