आरजु र मलाई मारिसकेका थिए, जेनजीले बचाए : शेरबहादुर देउवा

काठमाडौं,५ मंसिर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पार्टी कब्जा गर्ने उद्देश्यले विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाउनुभएको छ ।

शनिबार देउवा पक्षीय गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशन पार्टीको विधान र प्रक्रियाअनुसार नभई षड्यन्त्रपूर्वक नेतृत्व कब्जा गर्ने उद्देश्यले आयोजना गरिएको दाबी गर्नुभयो । पार्टीभित्रको विवादको न्यायिक निरूपणका लागि आफू अदालत गएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

सम्बोधनका क्रममा देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी डा. आरजु राणा देउवामाथि ज्यानै जाने गरी आक्रमण भएको स्मरण गर्नुभयो । सेनाको सहयोगमा उद्धार गरी उपचार गरिएपछि आफूहरू बाँच्न सफल भएको उहाँको भनाइ थियो ।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका थिए । हामी बाँचेका हौँ । अहिले पनि शरीरमा घाउ छ,’ उहाँले भन्नुभयो, ‘हेलिकप्टर अवतरण गर्न दिएनन् । घर जाने बाटोमा मानिसहरू बसेका थिए । पछि सेनाले गाडी पठाएर सेनाकै क्याम्पमा लग्यो । त्यहीँ उपचार भएपछि हामी बाँच्न सफल भयौँ ।’

देउवाले आन्दोलनका क्रममा आफूलाई जेनजी युवाहरूले नै बचाएको दाबी गर्दै जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले आफूहरूमाथि आक्रमण गरेको आरोप लगाउनुभयो ।

‘मलाई जेनजीहरूले बचाएको हो । फोटो र भिडियोमा बचाउनेहरू देखिन्छन् । तर, जेनजीको नाममा ५० वर्षमाथिका मानिसहरूले हामीलाई पिटे, ढुंगामुढा गरे,’ उहाँले भन्नुभयो ।

उहाँले आफू र पत्नीमाथिको आक्रमण सामान्य घटना नभई ठूलो षड्यन्त्रको हिस्सा भएको जिकिर गर्नुभयो । आन्दोलनका क्रममा बीपी कोइरालाका बुबाले निर्माण गरेको घरदेखि गणेशमान सिंहको घरसम्म आक्रमण भएको तथा देशभरका कांग्रेस पार्टी कार्यालयमा तोडफोड र क्षति पुर्‍याइएको उहाँले स्मरण गर्नुभयो ।

आफूमाथि आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने र आफूलाई झन्डै ज्यान जाने अवस्थामा पुर्‍याउने व्यक्तिहरूलाई समेत निर्वाचनमा टिकट दिइएको देउवाको आरोप थियो । पार्टीको नेतृत्व र उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उहाँले यस्तो निर्णयले पार्टीभित्रको अवस्था स्पष्ट पारेको बताउनुभयो ।

विशेष महाधिवेशनका नाममा पार्टीलाई षड्यन्त्रपूर्वक कब्जा गर्न खोजिएको आरोप दोहोर्‍याउँदै देउवाले पार्टीको विधान, विधि र प्रक्रियाविपरीत भएका गतिविधिविरुद्ध आफू न्यायका लागि अदालत पुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *