सहिद स्मारकमा पर्यटकको आकर्षण बढ्दै, एक महिनामै ३६ हजारभन्दा बढीले गरे भ्रमण

हेटौँडा, ७ मङ्सिर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा पर्यटकको आकर्षण बढ्दै गएको छ । गत कात्तिक महिनामा मात्रै ३६ हजार ७४० जनाले स्मारकको भ्रमण गरेका छन् ।

स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार कात्तिक महिनामा भ्रमण, वनभोज, चलचित्र छायाङ्कनलगायत विभिन्न प्रयोजनका लागि स्मारक पुगेका आगन्तुकबाट कुल २२ लाख २९ हजार ६५० रुपैयाँ आम्दानी भएको छ ।

स्मारक क्षेत्रमा अवलोकन भ्रमण, वनभोज तथा चलचित्र छायाङ्कनका लागि छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ । यसरी सङ्कलन भएको आम्दानी स्मारकका कर्मचारी व्यवस्थापन, पूर्वाधार विकास तथा अन्य आवश्यक कार्यमा खर्च गरिँदै आएको बिडारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिउँद सुरु भएसँगै स्मारक क्षेत्रमा वनभोजका लागि आउने पर्यटकको सङ्ख्या थप बढ्ने गरेको छ । वनभोजका लागि नौवटा व्यवस्थित सेडसहित खुला स्थानको समेत व्यवस्था गरिएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सहिद स्मारकमा एउटै ढुङ्गामा नेपालको विभिन्न कालखण्डका सहिदका आकृति कुँदिएका छन् । स्मारकमा वीर भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ । त्यस्तै, ज्ञात तथा अज्ञात सहिदको प्रतिनिधित्व गर्ने महिला र पुरुषका अमूर्त आकृतिसमेत निर्माण गरिएको छ ।

स्मारक परिसरमा मनमोहन वाटिका, जातीय सङ्ग्रहालय र चिडियाखाना प्रमुख आकर्षणका रूपमा रहेका छन् । यसबाहेक मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिनहाउस तथा फोहोरासहितको पार्कले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सहिद स्मारक वर्षभरि नै खुला राख्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । ऐतिहासिक महत्त्वसँगै मनोरञ्जन, वनभोज र पारिवारिक घुमघामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको सहिद स्मारक हेटौँडाको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *