कन्याममा घोडचढी व्यवसाय फस्टाउँदै, किसानको आम्दानीको भरपर्दो स्रोत बन्दै

इलाम, ७ मङ्सिर । इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी पछिल्लो समय फेरिएको छ । परम्परागत खेतीपाती गर्दै आउनुभएका उहाँको आम्दानीको मुख्य स्रोत अहिले घोडचढी व्यवसाय बनेको छ ।

तामाङको दिन बिहानै घोडाको स्याहारसुसारबाट सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटकलाई सेवा दिन तयार पार्ने उहाँको नियमित काम हो । त्यसपछि घोडा लिएर कन्याम बजार पुग्नुहुन्छ । दिनभर पर्यटकलाई घोडामा सवार गराउँदै कन्याम तथा आसपासका पर्यटकीय क्षेत्र घुमाउनुहुन्छ । साँझ दिनभरको कमाइ लिएर घर फर्कनुहुन्छ ।

घोडचढी व्यवसायबाट तामाङले औसतमा दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । घोडालाई दैनिक दानापानी खुवाउन करिब एक हजार रुपैयाँ खर्च हुने र बाँकी रकम बचत हुने उहाँ बताउनुहुन्छ ।

“बिहानदेखि साँझसम्म घोडाको स्याहारसुसार गर्ने र पर्यटकलाई घोडामा चढाएर घुमाउने नै आजकलको दैनिकी बनेको छ”, उहाँले भन्नुभयो, “दिनभर पर्यटकलाई घोडा चढाएर सरदर तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ । दैनिक घोडालाई दानापानी खुवाउन एक हजार रुपैयाँ खर्च हुन्छ ।”

प्याकेजमा पर्यटक घुमाउने अवसर पाएको दिन भने पाँच हजार रुपैयाँसम्म आम्दानी हुने उहाँको भनाइ छ । परम्परागत खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा आफूलाई थप सन्तुष्टि र आनन्द मिलेको उहाँ बताउनुहुन्छ ।

तामाङको मात्र होइन, अहिले कन्यामका ३९ किसानको दैनिकी पनि यस्तै बनेको छ । घोडापालन गर्दै आएका किसान बिहानदेखि साँझसम्म पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुने गरेका छन् ।

पछिल्लो समय कन्याममा घोडचढी व्यवसाय फस्टाउँदै गएको छ । कन्याम घुम्न आउने अधिकांश पर्यटक घोडचढीको अनुभव लिएर मात्र फर्कने गरेका छन् । पर्यटकको बढ्दो चापसँगै घोडा व्यवसायीको आम्दानीसमेत बढेको छ ।

विशेषगरी चियाबारी ट्रेलमा घोडा चढेर घुम्ने, फोटो तथा भिडियो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएपछि यो व्यवसाय थप आकर्षक बनेको हो । घोडचढी व्यवसायलाई व्यवस्थित बनाउन, शुल्कमा एकरूपता कायम गर्न तथा व्यवसायीलाई सङ्गठित गर्न घोडचढी व्यवसायी सङ्घसमेत गठन गरिएको छ ।

घोडचढी व्यवसायी सङ्घका कोषाध्यक्ष डिकबहादुर तामाङका अनुसार सङ्घले दूरी र सेवाको प्रकृतिअनुसार विभिन्न प्याकेजको शुल्क निर्धारण गरेको छ । घोडामा चढेर फोटो खिचेको ५० रुपैयाँ, १० मिनेट घुमेको १०० रुपैयाँ, स्पोर्ट राउन्ड घुमेको ३०० रुपैयाँ र हरियाली चियाबगान घुमेको ६०० रुपैयाँ शुल्क लिने गरिएको छ ।

त्यसैगरी, कन्यामका विभिन्न क्षेत्र समेटिएको प्याकेजअनुसार दुई हजार ५०० देखि पाँच हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

“सङ्घको निर्णयअनुसार हामीले विभिन्न प्याकेजमा शुल्क निर्धारण गरेका छौँ । ५० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मका प्याकेज छन्”, उहाँले भन्नुभयो, “व्यवसायबाट आम्दानी गरेबापत नगरपालिकालाई वार्षिक एक हजार ४७० रुपैयाँ र सरसफाइ शुल्कबापत मासिक ८० रुपैयाँ तिर्दै आएका छौँ ।”

घोडचढी व्यवसायी सङ्घका अध्यक्षसमेत रहनुभएका सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाका अनुसार घोडचढी व्यवसाय स्थानीय किसानको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । कन्याम आउने पर्यटकलाई घोडामा सवार गराएर विभिन्न स्थान घुमाउने कामले आम्दानीको राम्रो अवसर सिर्जना गरेको उहाँ बताउनुहुन्छ ।

“पर्यटकलाई घोडामा चढाएर उनीहरूले चाहेको स्थानमा घुमाउने गर्छौँ । खेतीपातीको तुलनामा यो काम धेरै सहज छ”, उहाँले भन्नुभयो, “यसबाट आम्दानी मात्र हुँदैन, नयाँनयाँ पर्यटकसँग भेटघाट र कुराकानी गर्न पाउँदा पनि मन आनन्दित हुन्छ ।”

कन्याममा बालबालिकादेखि युवा र वृद्धवृद्धासम्म घोडचढीको आनन्द लिने गरेका छन् । यसले पनि घोडचढी व्यवसायलाई पर्यटकको आकर्षणको महत्वपूर्ण हिस्सा बनाएको छ ।

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो । चारैतिर फैलिएका हरियाली चियाबारी र प्राकृतिक सौन्दर्यले सजिएको कन्याममा अहिले पर्यटक आगमनको मुख्य याम सुरु भएको छ ।

स्थानीय पर्यटन व्यवसायी टिका ओडारीका अनुसार सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको चहलपहल बढी हुने गर्छ । वनभोज, चियाबारीमा घुमफिर, फोटो तथा भिडियो खिच्न र घोडचढीको अनुभव लिन दैनिक ठूलो सङ्ख्यामा पर्यटक कन्याम पुग्ने गरेका छन् ।

पर्यटकको बढ्दो आकर्षणले कन्यामको पर्यटन गतिविधि विस्तार हुनुका साथै स्थानीय किसानका लागि घोडापालन र घोडचढी व्यवसाय आम्दानीको नयाँ आधार बन्दै गएको छ । यसले परम्परागत कृषिमा निर्भर किसानलाई पर्यटनसँग जोडेर वैकल्पिक रोजगारी र स्वरोजगारको अवसरसमेत प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *