उग्रतारामा आज भव्य मेला लाग्दै
डडेल्धुरा, ८ मङ्सिर । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिरमा स्थानीय भाषामा ‘देहिजाँत’ भनिने मेला कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने परम्परा छ। पूर्णिमाको राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्नेलाई ‘दिउसेडी’ भनिन्छ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुन्छ। मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन्।
डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गरेका छन्।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो। त्यसपछि किसानले खान ल्याएको खिचडीले रगत रोकिएको र सोही स्थानमा देवी प्रकट भएको जनविश्वास छ। यही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको मानिन्छ।
मेलामा स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनसमेत हुने गरेको छ। मेलाको अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
