कर्णालीमा तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

सुर्खेत, ९ मङ्सिर । कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्ने भएको छ।

सङ्घले आफ्नो विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगको सहकार्यमा कर्णाली प्रदेशका १० वटै जिल्लामा परियोजना सञ्चालन गर्न लागेको हो। परियोजनाअन्तर्गत अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायस्तरमा विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

परियोजनाको दोस्रो चरणमा तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ। परियोजना कार्यक्रम व्यवस्थापक दीपक जोशीका अनुसार पाँच हजारभन्दा बढी आँखा तथा कानसम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ।

विद्यालयमा आधारित आँखा परीक्षण कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ। त्यस्तै, समुदायस्तरमा आँखा तथा कान स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, रोगको समयमै पहिचान, उपचार तथा थप विशेषज्ञ सेवाका लागि रेफरल प्रणालीलाई प्रभावकारी बनाइनेछ।

परियोजनामा बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच र समावेशितालाई विशेष प्राथमिकता दिइने सङ्घले जनाएको छ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले सन् २०२० देखि २०२५ सम्म सिबिएमकै सहकार्यमा कर्णालीमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रमबाट सात हजारभन्दा बढी आँखा तथा कानसम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो। अघिल्लो कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइलाई संस्थागत गर्दै यसपटक अझ प्रभावकारी र बृहत् रूपमा सेवा विस्तार गर्न लागिएको उहाँले बताउनुभयो।

सङ्घका अनुसार कर्णालीमा आँखा तथा श्रवण स्वास्थ्य सेवाको आवश्यकता उच्च रहेको विभिन्न अध्ययनले देखाएका छन्। सन् २०२५ मा गरिएको अध्ययनमा सुर्खेत र सल्यानका एक हजार ९४६ जना सहभागीमध्ये ३८.९ प्रतिशतमा कुनै न कुनै प्रकारको श्रवण समस्या देखिएको थियो। तीमध्ये १५.९ प्रतिशतमा अशक्तता निम्त्याउन सक्ने स्तरको श्रवण ह्रास पाइएको थियो।

त्यसैगरी, सन् २०१९ मा कर्णाली प्रदेशमा गरिएको ¥यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस सर्वेक्षणले ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनको अवस्था करिब एक प्रतिशत रहेको देखाएको थियो। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार, आर्थिक कठिनाइ तथा विशेषज्ञ सेवाको अभाव आँखा उपचारमा पहुँचका प्रमुख चुनौती रहेको सङ्घले जनाएको छ।

महासचिव भरतबहादुर चन्दले कर्णालीका दुर्गम क्षेत्रमा बसोबास गर्ने धेरै नागरिक भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको बताउनुभयो। उपचारका लागि टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न समुदाय तथा नागरिकको घरदैलो नजिकै विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

सङ्घले आर्थिक अभाव, भौगोलिक विकटता वा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँगको सहकार्यमा विभिन्न क्षेत्रमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

‘सम्भव जीवन’ परियोजनाले कर्णालीका नागरिकको दृष्टि तथा श्रवण स्वास्थ्यमा सुधार ल्याउनुका साथै उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण, अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *