नारच्याङमा भीषण हावाहुरी: जलविद्युत् आयोजनाको बेसक्याम्प, विद्यालय र घरमा करोडौँको क्षति
म्याग्दी, १० मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालय, स्थानीयका घर तथा पर्यटकीय पदमार्गका अस्थायी संरचनामा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीका कारण १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्प भत्किँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ भने सुरुङ खन्ने लगायतका निर्माण कार्यसमेत प्रभावित हुने देखिएको छ ।
आयोजना र नेपाली सेनाको बेसक्याम्पमा ठूलो क्षति आयोजनाको सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार मङ्सिर ८ गते बिहान करिब १२ः१५ बजेदेखि चलेको हावाहुरीले भालेबासस्थित विस्फोटक पदार्थ भण्डारणस्थलको सुरक्षामा खटिएको नेपाली सेनाको बेसक्याम्पमा व्यापक क्षति पुर्याएको हो ।
जोमसोमस्थित इन्द्रबक्स गणबाट खटिएको सेनाको टोलीका लागि निर्मित अधिकृत तथा जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, शौचालय र सेन्ट्री पोस्ट भत्किएका छन् । भवनमा जडान गरिएका उपकरण, फर्निचर तथा अन्य बन्दोबस्तीका सामग्री हावाले उडाएको छ ।
यसैगरी, आयोजनाको निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम र कर्मचारी आवास भवनका भित्ता तथा छाना उडाएको छ । सुरक्षा बेसक्याम्प पुनर्निर्माण गर्न समय लाग्ने भएकाले विस्फोटक पदार्थको प्रयोग गरी गरिने सुरुङ उत्खनन लगायतका दैनिक काम प्रभावित हुने वरिष्ठ प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालय, स्थानीयका घर र कृषि बाली प्रभावित अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार हावाहुरीले भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा भवन र स्थानीय महलबहादुर गर्बुजाको दुईतले ढुङ्गामाटोको घरको छाना उडाएको छ । नारच्याङ र आसपासका बस्तीका अन्य घरगोठमा समेत क्षति पुगेको छ । पाक्ने बेला भएका सुन्तलाका दाना हावाले झारेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।
अन्नपूर्ण आधार शिविरका टेन्ट उडाउँदा पर्यटकलाई सास्ती हावाहुरीले अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकका लागि राखिएका १२ वटा टेन्ट उडाएको छ । टेन्ट उडाएपछि पदयात्रामा गएका पर्यटकलाई रात बिताउन समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।
क्षतिको विवरण सङ्कलन गरिँदै घटनापछि नेपाली सेनाका सेनानी मनिष गुरुङ, उपसेनानी नारायण पण्डित, आयोजनाका निर्देशक रमण सिंह, इलाका प्रहरी कार्यालय दानाका प्रहरी, जनप्रतिनिधि र सञ्चारकर्मीको टोलीले स्थलगत निरीक्षण गरेको छ । वडाध्यक्ष फगामीको रोहवरमा प्रहरीले क्षतिको मुचुल्का तयार पारेको छ भने अन्य क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित केन्द्रकी मौसमविद् सुमना रेग्मीका अनुसार सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा प्रतिसेकेन्ड अधिकतम ४.१ मिटरको गतिमा हावा चलेको मापन गरिएको थियो ।
विपद्को चपेटामा ४० अर्बको आयोजना ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहेको रु. ४० अर्ब लागतको यो ‘रन अफ द रिभर’ आयोजना बारम्बार प्राकृतिक विपद्को चपेटामा पर्दै आएको छ । गत जेठदेखि भालेबास र असोजदेखि घरापबाट सुरुङ खन्न थालिएको यस आयोजनाको मुस्ताङ सिमानास्थित निर्माणाधीन बाँधमा गत असोज दोस्रो साताको बाढीपहिरोले समेत क्षति पुर्याएको थियो ।
