सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटना : एकको मृत्यु, चार घाइते

सुनसरी, ५ मङ्सिर । सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले ट्रक चालक मकवानपुरका सञ्जय रिजाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

त्यस्तै, आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन्।

इटहरीबाट दुहबीतर्फ जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। घाइतेमध्ये नेपाल प्रहरीका हबल्दार रोहितकुमार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

चारै जनाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको परीक्षणबाट पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *