कार्यवाहक प्रमुख सुनिता डंगोलको पहलमा टेकुको फोहोरबाट ऊर्जा परियोजना पुनःसञ्चालन, जलवायु सप्ताहमा परीक्षण

काठमाडौँ, १० मङ्सिर । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको पहल र नेतृत्वमा लामो समयदेखि बन्द रहेको टेकुस्थित फोहोरबाट ऊर्जा उत्पादन परियोजना पुनःसञ्चालनमा आएको छ। ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०२६’ अन्तर्गत बिहीबार परियोजनाको परीक्षण सञ्चालन गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोलले संयुक्त रूपमा पुनर्निर्मित बायो–मिथेनेसन प्लान्टको परीक्षण सञ्चालन शुभारम्भ गर्नुभयो। काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच गत साउन १८ गते भएको समझदारीअनुसार परियोजनाको पुनर्निर्माण सम्पन्न भएपछि परीक्षण सञ्चालन गरिएको हो।

युरोपेली सङ्घको सहयोगमा सन् २०१७ मा स्थापना गरिएको उक्त परियोजना प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द थियो। पुनःसञ्चालनका लागि महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच भएको सहकार्यमा कार्यवाहक प्रमुख डंगोलले परियोजना निर्धारित समयमै सम्पन्न गरी दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन जोड दिनुभएको थियो। समझदारीमा पनि परियोजनालाई दिगो रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।

परीक्षण सञ्चालनपछि कार्यवाहक प्रमुख डंगोलले परियोजनाको निर्माण वा पुनःस्थापना मात्रै पर्याप्त नभई यसको नियमित सञ्चालन र उत्पादन हुने बायोग्यासको प्रभावकारी उपयोग तथा वितरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो। उहाँले बायोग्यास उत्पादन भएपछि त्यसलाई सिलिन्डर वा पाइपलाइनमार्फत वितरण गर्ने विषयमा स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो।

डंगोलले परियोजनाको दिगो सञ्चालनका लागि महानगरपालिकाले निजी क्षेत्र तथा प्राविधिक पक्षसँग समेत छलफल गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा नभई ऊर्जा र आर्थिक स्रोतका रूपमा उपयोग गर्ने वातावरण बनाउन आवश्यक छ।

टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्रलाई समेत व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो। उक्त केन्द्र सञ्चालनमा आएपछि कुहिने र नकुहिने फोहोर छुट्याउने, पुनःप्रयोग गर्न मिल्ने सामग्रीको व्यवस्थापन गर्ने तथा जैविक फोहोरलाई थप उपयोग गर्ने प्रणाली विकास हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनलाई ऊर्जासँग जोड्ने परियोजना सहरी फोहोर व्यवस्थापन, स्थानीय स्रोतको सदुपयोग र स्वच्छ वातावरण निर्माणका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो। नेपालले पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आयातमा ठूलो रकम खर्च गरिरहेको अवस्थामा देशमै उपलब्ध जैविक स्रोतबाट ऊर्जा उत्पादन गर्नुपर्ने उहाँको भनाइ थियो।

ऊर्जा विकासलाई जलविद्युत्मा मात्रै सीमित नराखी सौर्य ऊर्जा, बायोग्यास, फोहोरबाट ऊर्जा तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको विकास र उपयोगमा जोड दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो। ऊर्जा मिश्रणमा विविधता ल्याई स्थानीयस्तरमा उपलब्ध स्रोतको उपयोग गर्न सके दिगो र भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो।

कार्यवाहक प्रमुख डंगोलले परियोजना निर्धारित समयमै पुनःस्थापना भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच यस्ता परियोजनामा सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले निर्धारित समयमै परियोजना सम्पन्न गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो। उहाँले परियोजना पुनःसञ्चालनमा सहयोग गर्ने काठमाडौँ महानगरपालिका, विश्व बैङ्क, प्लान्ट आपूर्तिकर्ता तथा जडानकर्ता कम्पनी जेवन वेष्ट म्यानेजर प्रालिलगायत सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो।

सन् २०१४ देखि विश्व बैङ्कको सहयोगमा सञ्चालन हुँदै आएको नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत नगरपालिकाका फोहोरबाट ऊर्जा परियोजना तथा ठूला क्षमताका व्यावसायिक बायोग्यास प्लान्ट निर्माणमा सहयोग हुँदै आएको छ। हाल उक्त कार्यक्रम विश्व बैङ्कको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ।

कार्यक्रमअन्तर्गत हालसम्म सातवटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भएका छन् भने २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनालाई सहयोग उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

टेकुको पुनःसञ्चालित प्लान्टले दैनिक करिब तीन टन जैविक फोहोर व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्ने लक्ष्य राखेको छ। यसबाट फोहोर व्यवस्थापनसँगै ऊर्जा तथा जैविक मल उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा पुनःसञ्चालनमा आएको परियोजनालाई काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनलाई जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा र चक्रीय अर्थतन्त्रसँग जोड्ने प्रयासका रूपमा अघि बढाएको छ। ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०२६’मा परियोजनाको परीक्षण सञ्चालन हुनु पनि महानगरको जलवायु कार्ययोजना र वातावरणमैत्री सहरी व्यवस्थापनको प्राथमिकतासँग जोडिएको छ।

फोहोरबाट ऊर्जा उत्पादनले सहरी क्षेत्रमा प्रमुख चुनौतीका रूपमा रहेको कुहिने फोहोर व्यवस्थापनमा योगदान पुर्‍याउनुका साथै बायोग्यास तथा जैविक मल उत्पादनमार्फत स्रोतको पुनःउपयोग र चक्रीय अर्थतन्त्र प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *