काठमाडौंका मोबाइलमा आज ‘हाइ अलर्ट’ बज्ने, नआत्तिन गृह मन्त्रालयको आग्रह
काठमाडौं, ७ मंसिर । विपद्का बेला नागरिकलाई समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले सरकारले विकास गरेको ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को सोमबार प्रारम्भिक प्राविधिक परीक्षण हुने भएको छ।
गृह मन्त्रालयका अनुसार सोमबार साँझ ५ः३० बजेदेखि काठमाडौंका केही क्षेत्रमा नेपाल टेलिकमको २जी मोबाइल सञ्जालमार्फत प्रणालीको परीक्षण गरिनेछ। परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका केही मोबाइलमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश आउन सक्ने मन्त्रालयले जनाएको छ।
परीक्षण सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा आउनेछ। सन्देशमा ‘यो परीक्षण सन्देश हो’ र ‘TEST ALERT’ उल्लेख हुनेछ। परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक आउन सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मोबाइलमा चेतावनी ध्वनि वा सन्देश आएमा नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ। यो वास्तविक विपद्को सूचना नभई प्रणालीको प्राविधिक परीक्षण भएकाले कुनै प्रतिक्रिया वा कदम चाल्न आवश्यक नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइलमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिन्छ। भूकम्प, बाढी, पहिरोलगायत विपद्का समयमा जोखिममा रहेका क्षेत्रका नागरिकलाई तत्काल सूचना तथा सुरक्षा निर्देशन दिन यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।
गत भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा मोबाइलमार्फत सतर्कता सन्देश पठाइए पनि कतिपय नागरिकले समयमै सूचना नपढेको तथा सूचना प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेको थियो। त्यसलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले सेल ब्रोडकास्ट प्रणालीको परीक्षण अघि बढाएको हो।
प्रारम्भिक परीक्षणबाट प्रणालीको प्राविधिक क्षमता र प्रभावकारिता मूल्यांकन गरी आगामी दिनमा विपद्को उच्च जोखिम रहेका क्षेत्रमा यसको प्रयोग विस्तार गर्ने सरकारको तयारी छ।
