भौगर्भिक सम्मेलन : प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड
काठमाडौँ, ६ मङ्सिर । १२औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ ।
नेपाल भौगर्भिक समाजद्वारा आयोजित तीनदिने सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, उत्थानशील पूर्वाधार तथा आधुनिक भूवैज्ञानिक प्रविधिका विषयमा छलफल भएको समाजका अध्यक्ष भास्कर खतिवडाले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाको सहभागिता रहेको थियो । सम्मेलनमा रसुवाको विपद् तथा बहुप्रकोपीय जोखिमलगायतका विषयमा केन्द्रित रहेर अध्ययन तथा अनुसन्धान प्रस्तुत गरिएको थियो ।
समाजका महासचिव शिवकुमार बाँस्कोटाका अनुसार सम्मेलनमा सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र र ५८ वटा पोस्टर प्रस्तुति समावेश थिए ।
‘उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन’ विषयमा केन्द्रित सम्मेलनमा टेक्टोनिक्स, इन्जिनियरिङ भूविज्ञान, पर्वतीय पूर्वाधार, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खनिज तथा ऊर्जा स्रोत, डिजिटल भूविज्ञान र रिमोट सेन्सिङलगायतका विषयमा वैज्ञानिक छलफल गरिएको थियो ।
सम्मेलनका सहभागीले बहुविषयगत अनुसन्धानलाई प्रोत्साहन, वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार, आधुनिक अनुगमन प्रविधिको प्रयोग तथा विपद् जोखिम न्यूनीकरणमा विशेष जोड दिएका थिए ।
सम्मेलनले हिमालय तथा पर्वतीय भूविज्ञानको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न तथा अनुसन्धानमा संलग्न शैक्षिक संस्था, सरकारी निकाय र वैज्ञानिक समुदायबीच समन्वय र सहकार्य बढाउन सुझाव दिएको छ ।
