काठमाडौँ उपत्यकामा जलवायु परिवर्तनको असर घटाउने कार्यको नेतृत्व गर्दै कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ जलवायु कार्य सप्ताह २०८३

काठमाडौँ, मङ्सिर ३ । काठमाडौँ उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जोखिम व्यवस्थापनका लागि नेतृत्वदायी पहल थालेको छ । यसैक्रममा महानगरपालिकाले आगामी मङ्सिर ७ देखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ ।

कार्य सप्ताहका विषयमा जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका असर अब सम्भावित जोखिमका रूपमा मात्र नभई दैनिक जीवनमै अनुभूत हुन थालेकाले छलफल र सचेतनासँगै व्यावहारिक काम अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनको असर कुनै एक व्यक्ति, स्थान वा क्षेत्रमात्र सीमित नरहेको उल्लेख गर्दै यसको जोखिम न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, निजी, प्राज्ञिक तथा अनुसन्धान क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका चुनौती सामना गर्न विज्ञदेखि समुदायस्तरका नागरिकसम्मलाई एउटै मञ्चमा ल्याएर तत्काल गर्न सकिने कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।

तीव्र सहरीकरणसँगै काठमाडौँ उपत्यकाले सहरी डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको अभाव तथा फोहरमैला व्यवस्थापनजस्ता वातावरणीय चुनौती सामना गरिरहेको छ । यस्ता समस्या कुनै एउटा संस्था वा निकायको प्रयासबाट मात्र समाधान गर्न सम्भव नहुने भएकाले तीनै तहका सरकार, समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, युवा तथा नागरिक समाजबीच कार्यान्वयन तहमा सहकार्य थाल्नु कार्य सप्ताहको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सात दिनसम्म प्रत्येक दिन फरक विषयमा केन्द्रित रहेर कार्यमूलक कार्यक्रम सञ्चालन गरिनेछ । पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा उच्चस्तरीय संवाद हुनेछ । यसमा काठमाडौँ उपत्यका तथा प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुख, सरकारी निकाय, विज्ञ र सरोकारवालाबीच सहरी उत्थानशीलता तथा साझा प्राथमिकताका विषयमा छलफल गरिनेछ ।

दोस्रो दिन जलवायु वित्तका विषयमा केन्द्रित हुनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनबारे छलफल हुनेछ । यस अवसरमा महानगरपालिकाले लगानी आवश्यक भएका प्राथमिकताप्राप्त जलवायु परियोजना प्रस्तुत गर्ने कार्यक्रम छ ।

तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन गरिनेछ । चौथो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि र फोहरमैला व्यवस्थापनका विषयमा छलफल हुनेछ । सोही दिन टेकुस्थित बायोग्यास प्लान्ट उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ । यस दिन ५० भन्दा बढी विद्यालयमा एकैसाथ फोहर वर्गीकरण, वातावरणीय अवस्था पहिचान, वृक्षरोपण योजना, जलवायु खेल तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीका नवीन प्रविधि, हरित आविष्कार र इको क्लबका गतिविधि प्रदर्शन गर्नुका साथै जलवायु विषयमा ह्याकाथन र वैज्ञानिकसँग प्रत्यक्ष अन्तरक्रिया पनि गरिनेछ ।

यसै अवसरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाका लागि ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वना स्थान हासिल गर्ने सात जनालाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट १० जनालाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ को उपाधि दिई वर्षभरि जलवायु अभियानमा सहभागी गराइनेछ ।

छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा कार्यक्रम सञ्चालन हुनेछ । सहरी कृषि, परम्परागत बाली, बीउ संरक्षण तथा जलवायु अनुकूल कृषि प्रणालीबारे छलफल गरिनेछ । यस क्रममा राष्ट्रिय जीन बैंक, खुमलटारलगायत कृषि क्षेत्र तथा परम्परागत बजारको अवलोकन, कृषकसँग अन्तरक्रिया र कौसीखेतीसम्बन्धी सिकाइ कार्यक्रम आयोजना गरिनेछ ।

सप्ताहको अन्तिम दिन जलवायु परिवर्तनको असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वबारे छलफल हुनेछ । जलवायु न्याय, पुस्तान्तरणीय जिम्मेवारी, हिमाली क्षेत्रमा हुने क्षति तथा नोक्सानी र जलवायु वित्तका विषयमा विमर्श गर्दै ‘काठमाडौँ घोषणा २०८३’ जारी गर्ने कार्यक्रम रहेको छ । साथै, सरोकारवालाबीच सहकार्यको प्रतिबद्धतासहित संयुक्त विज्ञप्ति र आगामी कार्यदिशासम्बन्धी मार्गचित्रसमेत सार्वजनिक गरिनेछ ।

कार्य सप्ताहका क्रममा नेपाल प्रिमियर लिगसँगको सहकार्यमा हरित रङ्गशाला, शून्य फोहरका खेल दिवस तथा खेलमार्फत जलवायु सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको प्रयोग, नागरिक विज्ञान र वायु प्रदूषण न्यूनीकरणसम्बन्धी जनचेतनामूलक अभियान पनि सञ्चालन हुनेछ ।

त्यसैगरी ‘काठमाडौँ इन टेन इयर्स’ नामक खुला डिजाइन प्रतियोगितामार्फत दिगो सहरी विकास, स्वच्छ यातायात र भविष्यको काठमाडौँको परिकल्पना प्रस्तुत गर्न सार्वजनिक सहभागिता जुटाइनेछ । युवा सिर्जनाकर्मीका लागि सम्पदा र जलवायु परिवर्तनसम्बन्धी भिडियो तथा कथावाचन प्रतियोगिता आयोजना गर्नुका साथै महानगरपालिकाका ३२ वटै वडामा सामुदायिक जलवायु चलचित्र प्रदर्शन गर्ने योजना रहेको छ ।

कार्य सप्ताहमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सङ्घ र प्रदेश सरकारका प्रतिनिधि, विश्वविद्यालय तथा अनुसन्धान संस्थाका विज्ञ, विकास साझेदार, निजी क्षेत्र, वित्तीय संस्था, युवा समूह, नागरिक समाज र सर्वसाधारणको सहभागिता रहनेछ । यसबाट उपत्यकाभित्र र बाहिरका स्थानीय तहबीच जलवायु परिवर्तनसम्बन्धी साझा प्रतिबद्धता, जलवायु परियोजनामा लगानीका अवसर, परम्परागत हिटी प्रणालीको पुनर्जीवन, एकीकृत फोहरमैला व्यवस्थापन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि कार्ययोजना तयार हुने अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।

पत्रकार भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, विभागीय प्रमुख तथा कार्यक्रमका साझेदारहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *