रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौं, ११ मङ्सिर । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जना नेपालीलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा सात विदेशी नियोगबाट यकिन भएका ६२३ विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको छ ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अनुसार विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ । स्वदेशी नागरिकका विवरण स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा संकलन गरिएको थियो ।

बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’, वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्ययोजना र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना पनि स्वीकृत गरेको छ ।

पूर्वसूचना मार्गचित्रमार्फत २०८७ सम्म सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *