जेसीजमा पारदर्शिता र सुशासनको एजेन्डा : १७ वर्षको अनुभवसहित राष्ट्रिय अध्यक्षमा रश्मि शिल्पकारको उम्मेदवारी

काठमाडौं, १३ मङ्सिर । संस्थागत अनियमितता अन्त्य, पारदर्शिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै भक्तपुर लेडी जेसीजकी रश्मि शिल्पकारले नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गरी सन् २०२७ का लागि राष्ट्रिय अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् ।

नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशन आगामी पुस ८ देखि १० गतेसम्म झापाको भद्रपुरमा भद्रपुर जेसीजको आतिथ्यतामा मेची रङ्गशालामा आयोजना हुँदैछ । उक्त महाधिवेशनबाट सन् २०२७ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन हुनेछ ।

जेसीज अभियानमा १७ वर्षदेखि सक्रिय शिल्पकारले संस्थाभित्र विभिन्न जिम्मेवारी निर्वाह गर्दै नेतृत्वको अनुभव हासिल गरेकी छन् । सन् २००९ देखि जेसीजमा आबद्ध उनले सदस्यदेखि शाखा अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेकी छन् । एरिया सी ट्रेनिङ कोअर्डिनेटर, नेसनल लेडी एकेडेमी डाइरेक्टर, नेसनल भाइस प्रेसिडेन्ट (एनभीपी) तथा नेसनल एक्जुकेटिभ भाइस प्रेसिडेन्ट (एनईभीपी) का रूपमा समेत उनले काम गरिसकेकी छन् ।

पत्रकार सम्मेलनमा उनले जेसीजभित्र अनियमितता अन्त्य गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै संस्थालाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

राष्ट्रिय प्रशिक्षक तथा जेसीआई एकेडेमीसँग सम्बन्धित जिम्मेवारीमा समेत अनुभव हासिल गरेकी शिल्पकारले नेतृत्व तथा प्रशिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाएकी छन् । सिंगापुर र जापानमा आयोजित प्रशिक्षण तथा नेतृत्व विकास कार्यक्रमबाट समेत अनुभव प्राप्त गरेको उनले जानकारी गराइन् ।

जेसीज अभियानसँगै स्वास्थ्य, शिक्षा, व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा पनि सक्रिय शिल्पकार भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरकी प्रमोटर, डाइटिसियन तथा मार्केटिङ म्यानेजर हुन् । उनी केटाकेटी ए कम्प्लिट किड्स फेसन कलेक्सनकी सञ्चालक, एलिभेट एकेडेमीकी प्रबन्ध निर्देशक तथा भिजन नेपालको कार्यकारी बोर्ड सदस्यसमेत हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा उनले वरिष्ठ एजेन्सी म्यानेजरका रूपमा पनि काम गरेकी छन् ।

३४ वर्षदेखि नेतृत्व विकास र महिला सशक्तीकरणमा सक्रिय भक्तपुर लेडी जेसीजले शिल्पकारको उम्मेदवारीलाई संस्थागत अनुभवको राष्ट्रिय विस्तार र महिला नेतृत्वको प्रतिनिधित्वसँग जोडेर हेरेको छ । उनको उम्मेदवारीले भक्तपुर लेडी जेसीजको संस्थागत पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जेसीआई सञ्जालमा थप विस्तार गर्न सहयोग पुग्ने संस्थाको अपेक्षा छ ।

पत्रकार सम्मेलनमा भक्तपुर जेसीजका अध्यक्ष रेमण कोजू तथा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेलगायतले नेतृत्वमा महिला सहभागिता र प्रतिनिधित्वको आवश्यकता औँल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *