तनहुँ जलविद्युत् आयोजनाद्वारा चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण
काठमाडौँ, मंसिर १३ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना निर्माणका क्रममा प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक आवास निर्माण सुरु गरेको छ । आयोजनाको वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत काठबाट निर्माण गरिने आवासको डिजाइन तयार गरी काम अघि बढाइएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार गरेको डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने उहाँले बताउनुभयो । निर्माण सम्पन्न भएपछि चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछन् ।
आयोजना प्रमुख भण्डारीका अनुसार आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख कटानका कारण चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएकाले त्यसको न्यूनीकरणका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो ।
चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ । निर्माण गतिविधिबाट वन्यजन्तुको बासस्थानमा पर्न सक्ने सम्भावित असर कम गर्नुका साथै स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।
वैकल्पिक आवास निर्माणले चमेराको बासस्थान संरक्षण तथा आश्रयस्थलको उपलब्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।
तनहुँको ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन उक्त आयोजनाबाट १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई पनि अघि बढाउँदै आएको छ ।
