पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरोन्नति गरिँदै

काठमाडौँ, मंसिर १३ । दाङको ऐतिहासिक तथा पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक विस्तार तथा स्तरोन्नति गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका १९ स्थित छिल्लीकोट जोड्ने विजौरी-स्यालापानी सडक स्तरोन्नतिका लागि ६९ लाख रुपियाँ बजेट विनियोजन भएपछि काम अघि बढाउन लागिएको हो ।

वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार सडक स्तरोन्नतिका लागि तुलसीपुर उपमहानगरपालिकाबाट २८ लाख रुपियाँ र प्रदेश सरकारबाट ४१ लाख रुपियाँ विनियोजन भएको छ । उक्त बजेटबाट सडक कटिङ तथा नाला निर्माण गरिने उहाँले बताउनुभयो । विनियोजित बजेटले कालोपत्र गर्न पर्याप्त नहुने भएकाले तत्काल सडक विस्तार र नाला निर्माणको काम गरिने उहाँको भनाइ छ ।

हाल छिल्लीकोट पुग्न दूधरस–सङ्ग्राम र विजौरी–स्यालापानी गरी दुईवटा सडक सञ्चालनमा छन् । दुवै सडकको अवस्था कमजोर हुँदा पर्यटक तथा स्थानीयले आवागमनमा समस्या भोग्दै आएका छन् । विशेषगरी वर्षायाममा सडक हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको स्थानीय प्रविर पुनले बताउनुभयो ।

दूधरस हुँदै छिल्लीकोट पुग्ने सडक सोनापुर सिमेन्ट उद्योगले निर्माण गरेको हो । उक्त सडकमा उद्योगका चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गर्ने भएकाले पर्यटकलाई असहज हुने गरेको छ । यस्तै, विजौरी–स्यालापानी सडक साँघुरो र अत्यधिक उकालो हुँदा दुईवटा सवारीसाधन एकैपटक आवतजावत गर्नसमेत कठिन हुने गरेको छ ।

आन्तरिक पर्यटक रेशम खत्रीले सडकको अवस्था कमजोर हुँदा छिल्लीकोट पुग्न कठिनाइ हुने गरेको बताउनुभयो । सडक विस्तार तथा स्तरोन्नति भएमा पर्यटकको आवागमन सहज हुने उहाँको अपेक्षा छ । सडक सुधारका लागि बजेट विनियोजन भएपछि स्थानीयवासी पनि उत्साहित भएका छन् ।

छिल्लीकोट ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ । बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले शासन गरेको प्राचीन दरबारका भग्नावशेष यहाँ अवलोकन गर्न सकिन्छ । त्यस्तै, प्रसिद्ध कालिका र मालिका देवीका मन्दिर धार्मिक पर्यटकका प्रमुख आकर्षण हुन् ।

समुद्री सतहदेखि करिब एक हजार ४२० मिटर उचाइमा रहेको छिल्लीकोटबाट दाङ उपत्यका तथा उत्तरतर्फका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जीपलाइन निर्माण भए पनि सञ्चालनमा आएको छैन भने होमस्टे सञ्चालन र निजी क्षेत्रको व्यावसायिक लगानीसमेत बढ्दै गएको छ ।

सडक पूर्वाधारको सुधारसँगै छिल्लीकोटको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन हुने र स्थानीयस्तरमा रोजगारी तथा आम्दानीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *