नेपालगञ्जको हडियाबाबा आश्रममा धार्मिक मेला, नेपाल–भारतका ७०० बढी साधुसन्त सहभागी

बाँके, १३ मङ्सिर । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा आयोजित धार्मिक मेलामा नेपाल र भारतका ७०० भन्दा बढी साधुसन्त सहभागी भएका छन् ।

मङ्सिर १० गतेदेखि सुरु भएको छ दिने मेलामा विभिन्न जिल्लाका साथै भारतबाट समेत साधुसन्त तथा भक्तजन आउने क्रम जारी रहेको हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो ।

मेलामा साधुसन्त मन्दिर परिसरको खुला बगैँचामा आगो ताप्दै भजनकीर्तन, प्रवचन तथा धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन् । सहभागी साधुसन्त र भक्तजनका लागि नियमित भण्डारा, खानपान तथा अन्य व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

मेलामा राति धार्मिक प्रवचन, नाटक तथा रामलीलासमेत मञ्चन हुने गरेको छ । मेलाको अन्तिम दिन टाढाबाट आएका साधुसन्तलाई कम्मल तथा दक्षिणासहित सम्मानपूर्वक बिदाइ गर्ने व्यवस्था रहेको अध्यक्ष वैश्यले बताउनुभयो ।

करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको आश्रममा हडियाबाबाको समाधि, विभिन्न मन्दिर, गौशाला, पार्क तथा साधुसन्त बस्न मिल्ने संरचना छन् । करिब एक सय वर्षअघि नेपालगञ्ज आएका हडियाबाबाले तपस्याबाट भक्तजनका मनोकामना पूरा गर्ने जनश्रुति र विश्वासका कारण हरेक वर्ष यहाँ धार्मिक मेला लाग्ने गरेको आयोजकको भनाइ छ ।

मेलामा दर्शन, पूजा तथा प्रसाद ग्रहण गर्न स्थानीयवासीसहित विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *