विश्वभरका कम्प्युटर प्रणालीमा साइबर आक्रमण, फिरौती माग

 

युक्रेन । विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको छ जसका कारण ब्यांक, साना व्यापारी, उर्जा फर्महरु र यातायात सञ्जाल प्रभावित भएका छन्।
उक्त भाइरस पहिलो पटक युक्रेनमा फेला परेको थियो र त्यहाँको सरकारी उर्जा कम्पनी साथै देशको मुख्य विमानस्थलमा समस्या देखिएका विवरण आएका थिए।
भाइरस लागेको कम्प्युटर खोल्ने वित्तिकै प्रयोगकर्ताहरुलाई पहिचान नखुलेको खातामा विद्युतीय मुद्रा बिट कोइन्सका रुपमा ३०० डलर फिरौती नतिरेसम्म उनीहरुको कम्प्युटर नखुल्ने चेतावनीमूलक सन्देश दिइएको बताइएको छ।
डेनमार्कको सबैभन्दा ठूलो सिपिङ कम्पनी मर्स्क, रुसी तेल कम्पनी रोसनियेफ्ट र अमेरिकी फार्मास्युटिकल कम्पनी मर्कका कम्प्युटर प्रणाली अवरुद्ध भएका छन्।

अमेरिकी सुरक्षा निकायले उक्त हमलाको अनुगमन गरिरहेको जनाएको छ।
रुसी एण्टी भाइरस फर्म क्यास्परस्की ल्याबले उसको विश्लेषणमा झण्डै २००० वटा हमला भएको र अधिकांश युक्रेन, रुस र पोल्याण्डमा भएको जनाएको छ।