१ क्विन्टल सुन ६० किलोमा झारेको भन्दै प्रचण्ड सरकारलाई ओलीको यस्तो छ खबरदारी

काठमाडौं, ३२ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेतृत्वको सरकारले सुनमा गडबढी गरेको आरोप लगाउनु भएको छ । एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सुनकाण्डको छानविन गर्न माग गर्दै आएको थियो । तर, एमालेको त्यो मागलाई वेवास्था गर्दै आएको सरकारले केही समय अघि पक्राउ गरेको भनिएको १ क्विन्टल सुन अहिले ६० किलोमा झरेको छ । त्यसमा सरकारको गडबडी रहेको भन्दै एमालेले आशंका गर्दै आएको थियो ।

नेकपा (एमाले) उद्योग वाणिज्य तथा आपूर्ति विभागले राजधानीमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो आशंका गर्नुभएको हो ।

‘हामीले सुन तस्करीको छानबिन गर्न उच्च समिति बनाउन भनेका थियौँ । तर, एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्‍यो,’ उहाँले भन्नुभयो, ‘यो समिति नबनाउनुको परिणाम हो ।’ब्रेक शुमा तस्करी गरेर ल्याउँदा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । ओलीले त्यसप्रति संकेत गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले सरकारले राम्रो काम केही नगरेको भन्दै ३३ पटक ब्रेक सुको नाममा सुन आउँदा एकदिन कतैबाट बाध्यता परेपछि मात्रै समातेको पनि आरोप लगाउनुभयो । ‘ पहिले खोलामा सुन बग्छ भनिन्थ्यो अहिले एअरपोर्ट बाटै सुन बगिरहेको छ,’ उहाँले भन्नुभयो, ‘एअरपोर्टमा त यस्तो छ झन खुल्ला सिमानामा के होला ?’ उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सुन तस्करीको अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको ओलीले बताउनुभयो ।

ओलीले सुनमा त्यत्रो लगानी गर्ने को भन्दै प्रश्नसमेत गर्नुभयो । ओलीले अहिले संकटग्रस्त बनेको अवस्थामा उद्योग व्यवसायमा सरकार सहयोगी नभएको टिप्पणी समेत गर्नुभयो । ‘अहिलेको सरकार सहयोगी छैन । उद्योग बन्द छन्, अप्ठ्यारोमा छन् सरकारलाई मतलब छैन’, उहाँले भन्नुभयो, ‘उद्योगधन्दा सकसमा पर्दा सरकारले सहजीकरण गर्नुपर्ने हो । तर, त्यस्तो भएको छैन ।’ उहाँले व्यवसायीका समस्या समाधानका लागि सदनमा सरकारसँग नीतिगत डिलमा एमालेले सशक्त भूमिकाका साथ उभिँने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भूकम्पबाट सामना गरेर भर्खर तंग्रेका बेला फेरि मुलुकको अर्थतन्त्रलाई कोभिडले थिलथिलो पारेको स्मरण ओलीले गराउनुभयो । ‘त्यो संकटबाट थिग्रेर धुलो टक्कटक्याउँदै हिँड्ने तयारी छैन । अर्थतन्त्रको संकटबाट उक्सिन खोई तयारी ?’, ओलीले सरकारसँग प्रश्न गर्नुभयो ।

ओलीले नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पक्राउका विषयमा प्रतिशोधी राजनीति गर्न खोजिएको टिप्पणी समेत गर्नुभयो । ‘सुनिल शर्मा एउटा सांसद न पक्राउ पुर्जी न पुष्टि हुने आरोप यसो चाखिहेरेको कस्तो हुँदोरछ भनेर ?,’ ओलीले भन्नुभयो, ‘यो समाजलाई नै टोक्ने प्रवृत्ति हो । गठबन्धनको सांसद समातेर नाङ्लो ठटाएर हात्ती तर्साएको हो ।’