भक्तपुरकाे बाल सुधारगृह तोडफोड गरेर भागे करिब २ सय कैदीबन्दी
भक्तपुर, ४ भदाै । सानोठिमीस्थित बाल सुधार गृहमा रहेका करिब २ सय कैदीबन्दीले बिद्रोह गरेर भागेका छन् । लाठी भालासहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह फाेडेर भागेका हुन् ।
आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो ।
विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ।
बालसुधार गृहभित्र रहेका थुनुवाले बन्दीगृह प्रशासन विरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्कन खोजेपछि सोमबार दिउसो सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो । गोली चलेपछि अझ आक्रोशित हुँदै कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका छन् ।
भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सुधार गृहमा ३ सय जना जति कैदीबन्दी भएकाे र उनीहरू तोडफोड गरेर भागेकाले तीमध्ये केहीलाई नियन्त्रणमा लिएका छन् ।
सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेत बलात्कार अभियोगमा दोषी ठहर भएर तीन वर्षअघि सुधार गृहमा ल्याएका थिए । उनकाे आइतबार मृत्यु को थियो।
आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन शुरु गरिसकेको छ ।
मृत्युपछि सुधारगृहले परिवारलाई मृत्यु भएको खबर दिएको भएपनि मृत्युको कारण पुष्ट्याई हुन नसकेको भन्दै परिवारले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।
शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो।
अस्पतालले केहीबेरमै मृत घोषणा गरेको थियाे । मृतको शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।