कोलकाताबाट विराटनगरका लागि सिधा रेल कार्गो सेवा सुरु

काठमाडौँ, १ साउन । नेपाल–भारत पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन र व्यापार सहजीकरणमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै सिधै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रिया अन्तर्गत आजदेखि ‘कोलकाता–विराटनगर रेलवे कार्गो’ सेवा औपचारिक रूपमा सुरु भएको छ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार, भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले सन् २०२५ नोभेम्बरमा ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम नियमावली, २०१९’ मा संशोधन गरेसँगै यो मार्ग प्रशस्त भएको हो। विगतमा मुख्यतया वीरगञ्ज नाकामा मात्र सीमित रहेको रेल कार्गोको सुविधा अब विराटनगरसम्म विस्तार भएको छ। यसका लागि नेपाली महावाणिज्य दूतावासले कोलकाता भन्सार र बन्दरगाह अधिकारीहरूसँग निरन्तर प्राविधिक तथा कूटनीतिक समन्वय गर्दै आएको थियो।

कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार र भारतीय कन्टेनर निगम लिमिटेडका उच्च अधिकारीहरूले संयुक्तरूपमा हरियो झण्डा देखाई सेवाको उद्घाटन गर्नुभएको छ। भारतीय कन्टेनर निगमको रेल र्याकमार्फत नेपालको ‘स्वस्तिक आयल इन्डस्ट्रिज’ का लागि तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ बोकेका ४० फिटका ४० वटा उच्च क्षमताका कन्टेनरहरू प्रस्थान गरेका छन्।

सबै कन्टेनरमा ‘विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम’ जडान गरिएको छ, जसले मालसामानको सुरक्षा र ट्र्याकिङलाई विश्वसनीय बनाउँछ। कोलकाताबाट हिँडेको करिब २४ घण्टाभित्र कार्गो विराटनगरस्थित एकीकृत भन्सार यार्डमा आइपुग्नेछ। एकपटकमा ४५ वटासम्म ठुला कन्टेनरहरू रेलमार्फत ढुवानी गर्न सकिने प्राविधिक क्षमता रहेको छ।

विज्ञहरूका अनुसार सडक मार्गको तुलनामा रेल कार्गो सेवा सुरक्षित, भरपर्दो र न्यून लागतको हुनेछ। यसबाट नेपाली आयातकर्ताहरूलाई निम्न लाभ पुग्ने देखिन्छ । बन्दरगाहमा तिर्नुपर्ने विलम्ब शुल्क र कन्टेनर डिटेन्सन चार्जमा उल्लेख्य कटौती हुनेछ। पारवहन लागत घट्दा नेपाली उद्योगहरूले उत्पादन गर्ने वस्तुको लागत कम भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढ्नेछ भने सडक यातायातको झन्झटिलो प्रक्रिया र समयको तुलनामा रेलमार्फत हुने २४ घण्टे ढुवानीले ‘सप्लाइ चेन’ लाई थप चुस्त बनाउनेछ।