जनकवि धर्मराज थापाको योगदान अविष्मरणीय छ : प्रदेश प्रमुख भट्ट
काठमाडौँ, साउन १ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली लोकसङ्गीत र संस्कृतिको उत्थानमा जनकवि केशरी धर्मराज थापाले पुर्याउनुभएको योगदान अतुलनीय र अविष्मरणीय रहेको बताउनुभएको छ ।
धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा जनकवि थापाको १०२औँ जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले थापालाई माटोको सुगन्ध बोकेका कालजयी सर्जकको रूपमा स्मरण गर्दै ओझेलमा परेका लोकभाका र धुनहरूलाई राष्ट्रिय पहिचान दिलाउन उहाँको भूमिका मुख्य रहेको उल्लेख गर्नुभयो ।
‘जनकवि थापाले गाउँबेसी र पाखापखेरा चहारेर मौलिक भाकाहरूको संकलन गर्नुभयो, जसका कारण आज नेपाली लोकसंस्कृति जीवन्त छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो, ‘उहाँका सिर्जनामा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको यथार्थ चित्रण पाइन्छ। आधुनिक र पश्चिमा संस्कृतिको बढ्दो प्रभावका बीच थापाका सिर्जनाहरू नयाँ पुस्ताका लागि सधैँ मार्गदर्शक रहनेछन् ।”
सोही अवसरमा प्रतिष्ठानले दुई विधामा पुरस्कार समेत अर्पण गरेको छ । ‘धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार’ स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गरिएको छ भने ‘धर्मराज सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार’ पोखराको भैरव सांस्कृतिक संरक्षण समितिलाई प्रदान गरिएको छ। दुवै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपानेलगायत शिक्षा तथा संस्कृतिकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । वक्ताहरूले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु नै जनकवि थापाप्रतिको सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिएका थिए ।