गाईजात्राका विकृति हटाउन आजैदेखि तयारी

काठमाडौं, १२ भदौ । हरेक वर्ष भाद्रकृष्ण परेवा (गुंलागा पारु) का दिन मनाइने गाईजात्रा पर्वलाई व्यवस्थित गर्न हनुमानढोका क्षेत्रमा विशेष तयारी शुरु भएको छ । गाईजात्रा पर्वमा केही वर्ष अघिदेखि देखिँदै आएको विकृतिहरूलाई हटाउन यस पाली अभियानकै रुपमा स्वयंसेवीहरू परिचालन गरिने भएको छ ।

आफ्ना दिवंगत आफन्तको स्वर्गवासको कामना गर्दै निकालिने गाईजात्रामा केही वर्ष अघिदेखि असम्बन्धित व्यक्तिहरू पनि घुसपैठ भई दानका सामग्रीहरू लिएर जाने क्रम बढेको छ । शुरुमा दुई चार जना मात्रै आउने यी असम्बन्धित व्यक्तिहरू अहिले संगठित रुपमै समूह बनाएर आउन थालेपछि यिनीहरूलाई हटाउनै पर्ने बाध्यता आइपरेको बताइएको छ ।

आज हनुमानढोकामा गाईजात्रा पर्वको व्यवस्थापन तयारीका लागि विभिन्न निकाय, खलःपुचः र क्लबका पदाधिकारीहरू बीच भएको बैठकले यो निर्णय गरेको हो । त्यसरी आउने असम्बन्धित व्यक्तिहरूलाई हटाउन नेपाल प्रहरीको जनसेवा वृत्त, महानगरपालिकाको नगर प्रहरी बल र अन्य संघसंस्थालाई जिम्मा दिइएको छ ।

त्यस्तै सो दिन गाईजात्रा रुटमा सरसफाइ गर्न पहिले जस्तै यसपाली पनि लकस म्हालासाला पुचःलाई जिम्मेवारी दिइएको छ । त्यस्तै प्राथमिक उपचार र एम्बुलेन्सको लागि रेडक्रस सोसाइटी काठमाडौं, भिड नियन्त्रणको लागि नेपाल स्काउट, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरी, जनचेतना र सरसफाइ अभियानका लागि नेपाली सेनाको शार्दूल जंग गुल्म र रणभैरव गण तथा सशस्त्र प्रहरीको बाघभैरव गुल्मलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै बाटो मर्मत, सरसफाइ र अन्य व्यवस्थापनको लागि काठमाडौं महानगरपालिका वडा नं. २० र २३ का साथै हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम, जनस्वास्थ्य विभाग र वातावरण व्यवस्थापन विभागले पनि सहकार्य गर्नेछ । ठाउँ ठाउँमा पानी र स्वास्थ्य शिविरको व्यवस्था गर्न लायन्स क्लब अफ कोर सिटी, मच्छिन्द्र क्लब र मच्छिन्द्र स्काउट ट्रुपलाई जिम्मा दिइएको छ ।

गाईजात्रा सामुन्ने आएपछि जात्रा चलाउनु पर्ने मार्गमा पर्ने खाल्डाखुल्डी पुर्ने काम पनि अघि बढाइसकेको छ । गाईजात्रा व्यवस्थापनमा संयोजनकारी भूमिकामा रहनुभएका सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले जात्रा अगाडि अहिले खाल्डाखुल्डी पुर्न थालेको सकारात्मक कार्य भए पनि आगामी वर्षदेखि यसलाई पनि सुधार गरी जात्रा आउनु अघि नै बाटा मर्मतको कार्य अघि बढाउने बताउनुभयो ।

यसै बीच काठमाडौं महानगरपालिकाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमले गाईजात्रा चलाउने रुट सार्वजनिक गरेको छ । अहिले जात्रासँग सम्बन्धित कार्यहरू यही रुट भित्र सञ्चालन गरिने बताइएको छ ।

यसपाली तिथिसम्बन्धी विवादका कारण जनै पूर्णिमा र गाईजात्रा कुन दिन मनाउने भन्ने अन्यौल रहेको भए पनि काठमाडौंमा भदौ १४ गते गुंपुन्हि (जनै पूर्णिमा) र १५ गते शुक्रवार गाईजात्रा मनाइने भएको छ ।