कैलालीकाे गेटा अस्पतालमा ‘उपकरण छ, डाक्टर छैन’: भिडियो एक्सरे र म्यामोग्राफी सेवा ठप्प

कैलाली, १७ असार । सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको ‘आशाको केन्द्र’ मानिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहतको गेटा अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा महत्वपूर्ण स्वास्थ्य सेवाहरू बन्द भएका छन्। दुई महिनादेखि रेडियोलोजिष्ट नहुँदा अस्पतालमा भिडियो एक्सरे (यूएसजी) र म्यामोग्राफी सेवा पूर्ण रूपमा ठप्प भएको हो।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार रेडियोलोजिष्ट डा. होम पन्तको कोशीमा सरुवा भएपछि र उनले जागिरबाट राजीनामा दिएसँगै यो समस्या उत्पन्न भएको हो। डाक्टर नहुँदा अस्पताल पुग्ने बिरामीहरू महँगो शुल्क तिरेर निजी क्लिनिक तथा अन्य अस्पताल धाउन बाध्य छन्।

यस क्षेत्रमै पहिलोपटक गेटा अस्पतालमा सुरु गरिएको म्यामोग्राफी (स्तन क्यान्सर जाँच) सेवा अहिले पूर्ण रूपमा बन्द छ। म्यामोग्राफीको रिपोर्टिङका लागि अनिवार्य रूपमा रेडियोलोजिष्ट डाक्टर चाहिने भए पनि कोही नहुँदा मेसिन थन्किएको छ। यस्तै, दैनिक २० जनाभन्दा बढीले सेवा लिने गरेको भिडियो एक्सरे सेवा बन्द हुँदा सामान्य बिरामीहरूले समेत सास्ती खेपिरहेका छन्।

सूचना अधिकारी कार्कीका अनुसार गर्भवती महिलाहरूको आकस्मिक जाँचका लागि भने स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिष्ट) डाक्टरहरूले नै आधारभूत भिडियो एक्सरे गरिरहेका छन्। तर, अन्य स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि भने सेवा उपलब्ध छैन।

६ सय शय्याको विशाल भौतिक संरचना तयार भए पनि गेटा अस्पताल हाल ५० शय्यामा मात्रै सञ्चालित छ। ६ सय बेडको भवन भएर पनि सामान्य परीक्षण सेवा समेत नपाइँदा स्थानीय बासिन्दा आक्रोशित छन्। अस्पतालमा आईसीयू र एनआईसीयू सेवा सञ्चालन गर्ने भन्दै पूर्वाधार तयार पारिए पनि दक्ष जनशक्तिको अभावमा ती सेवाहरू समेत सुरु हुन सकेका छैनन्।

अस्पतालको सेवा विस्तारका लागि स्थानीयले पटक-पटक दबाब दिँदै आएका छन्। तर, भएका उपकरणहरू चलाउने डाक्टर समेत नहुँदा गेटा अस्पताल पछिल्लो समय ‘रेफरल सेन्टर’ जस्तो मात्र बन्न पुगेको सेवाग्राहीहरूको गुनासो छ। सरकारले विश्वविद्यालय घोषणा गरे पनि पर्याप्त जनशक्ति र बजेट व्यवस्थापन नगर्दा सुदूरपश्चिमका नागरिकले आफ्नै दैलोमा विशेषज्ञ सेवा पाउन सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *