जंगली बँदेल धपाउन श्रीमानले थापेकाे विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु

गुल्मी, १७ असार । गुल्मीको धुर्कोट गाउँपालिकामा जंगली बँदेल धपाउन थापिएको विद्युतीय धरापमा परेर एक महिलाको ज्यान गएको छ। आफ्नै श्रीमानले बाली जोगाउन बारीमा प्रवाह गरेको करेन्टमा परेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको हो।

धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले जंगली बँदेलले मकैबाली नष्ट गरेपछि त्यसलाई नियन्त्रण गर्न घरभन्दा करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट नाङ्गो तारमार्फत करेन्ट प्रवाह गरेका थिए। सोही धरापमा हुमकला अन्जानमा परेपछि गम्भीर घाइते भएकी थिइन्।

करेन्ट लागेर छटपटाइरहेकी हुमकलालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले बिहीबार बिहान ३:२५ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घटनापछि प्रहरीले लापरबाहीपूर्ण तरिकाले विद्युतीय धराप थापेको अभियोगमा श्रीमान् भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

पछिल्लो समय जंगली जनावरबाट बाली जोगाउन तराई र पहाडी जिल्लाहरूमा यसरी अवैध रूपमा करेन्ट प्रवाह गर्ने प्रवृत्ति बढेको छ, जसले गर्दा समय-समयमा मानवीय क्षति हुने गरेको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ।