एमालेका पाँच प्रदेशमा हराए १०८ प्रतिनिधि, सबैभन्दा बढी लुम्बिनी कम कर्णालीमा

काठमाडौं, १९ असोज । नेकपा (एमाले)का ७ प्रदेश र एक उपत्यका विशेष प्रदेश कमिटी गरी ८ प्रदेश संरचनाका संगठन रहेका छन् । ती मध्ये नेकपा (एमाले)ले पाँच प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । उपत्यकाको आज उद्घाटन भएको छ भने सुदुरपश्चिम र मधेस प्रदेशको अधिवेशन बाँकी छ ।

एमालेले आठ मध्ये कोसी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ । यी पाँच प्रदेश मध्ये सबै भन्दा बढी मतदाता बागमती प्रदेश अधिवेशनमा रहेका थिए ।

बागमती प्रदेश अधिवेशनमा कुल ११ सय ६७ प्रतिनिधि मध्ये मतदानमा ११ सय ३५ मात्रै सहभागी भएका थिए । बागमतीमा अनुपस्थित मतदाताको संख्या ३२ थियो । बागमतीमा खसेका मतमध्ये कैलाश ढुङ्गेल ६ सय ९६ मतसहित विजयी हुनुभयो भने अध्यक्षका अर्का प्रत्यासी कृष्ण दाहालले ४ सय ३९ मत मात्रै ल्याउनुभयो ।

त्यसैगरी गण्डकी प्रदेश अधिवेशनमा ९ सय ६ प्रतिनिधि रहे पनि ८ सय ९६ जना मात्रै मतदान प्रक्रियामा सहभागी भए । गण्डकीमा नवराज शर्मा ५ सय ३१ म्त ल्याएर विजयी हुँदा मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । मायानाथ अधिकारीले ३ सय ६५ मत ल्याउनुभयो ।

कोसी प्रदेशमा ९ सय ९७ प्रतिनिधि रहेको ९ सय ७७ जना मात्रै मतदानमा सहभागी भए । कोसीको मतदानमा २० जना अनुपस्थित रहेका थिए । कोसी एमालेको अध्यक्षमा घनश्याम खतिवडा ५ सय १२ मतसहित निर्वाचित हुँदा विनोदप्रसाद ढकालले ४ सय ३० मत प्राप्त गर्नुभयो ।

६ सय १६ जना प्रतिनिधिमध्ये ६ सय ९ जनाले मतदान गरेको कर्णाली प्रदेशको एमाले अध्यक्षमा गुलावजङ्ग शाह विजयी हुनुभयो । उहाँ ३ सय ६९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिष्पर्धी मिनबहादुर शाहीको २ सय ७ मत आएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा ९ सय ६५ मत खसेको थियो । कुल एक हजार चार जना मतदाता रहेकोमा त्यहाँ ९ सय ६५ मत मात्रै खसेको थियो । त्यहाँबाट हरि रिजाललाई २ मतले पराजित गर्दै राधाकृष्ण कँडेल विजयी हुनुभएको थियो । कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत प्राप्त गर्नुभएको थियो ।