कञ्चनपुरबाट प्रहरीले बरामद गर्याे भन्सार छलेर ल्याएकाे २१ लाखको अवैध सामान
कञ्चनपुर, २० असोज । प्रहरीले कञ्चनपुरबाट रु २१ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
भारतबाट लुकिछिपी भन्सार छलेर ल्याउनेक्रममा प्रहरीले अवैध सामान नियन्त्रणमा लिएकाे हाे । प्रहरीकाे सक्रियतासँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।
भारतसित सीमाना जोडिएको कञ्चनपुरमा ठूला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ ।
दुई दिनयता जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–६ र १८ मा गोदाममा छापा मारेर भन्सार छलेर ल्याएको रु २१ लाख बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गड्डाचौकी नाका हुँदै भारतबाट भन्सार छलेर ल्याएको सामान बरामद गरिएको हो । व्यापारी भुवन भाटको घरमा छापा मार्दा रु दश लाखको खाद्य तथा किराना सामान बरामद गरिएको उहाँले बताउनुभयो ।
प्रहरी उपरीक्षक कमल थापाले भन्सार छलेर अवैध रुपमा सामान ल्याउने ठूला व्यापारीमाथि निगरानी बढाइएको बताउनुभयो । सोही क्रममा प्रहरीले शुक्रबार महेन्द्रनगरका व्यापारी सुशील गुप्ताको गोदाममा छापा मारेको थियो । प्रहरीले गोदामबाट रु ११ लाख बराबरको सामान बरामद गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।