काभ्रेपलाञ्चोकमा डेङ्गुको सङ्क्रमण बढ्दै
काभ्रेपलाञ्चोक, १३ कात्तिक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा अनिता खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढेनसक्ने अनुमान गरिएको छ ।
अघिल्ला दुई दिन नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयको दैनिक तथ्याङ्कअनुसार कात्तिक महिनाको १२ दिनमा २७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै यस आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा ८९ महिला र ८४ पुरुष गरी एक सय ७३ जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ ।
जिल्लामा गत असोज अन्तिम साता पुनः डेङ्गुको सङ्क्रमण देखिएको थियो । जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका बाहेक हाल १२वटै स्थानीय तहमा डेङ्गुका सङ्क्रमित पुगेका थिए । तीमध्ये सबैभन्दा बढी बनेपा नगरमा ७१ सङ्क्रमित थिए ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको बिरामीलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक तथा गिँजाबाट रगत बग्ने, शरीरमा रगत जेमेको दाग देखापर्ने तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।