भूकम्प अपडेट : हालसम्म १५७ जनाको मृत्यु, १९७ घाइते
काठमाडौं, १८ कात्तिक । जाजरकोट र रुकुम पश्चिममा आएकाे भूकम्पमापरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट दुवै जिल्लामा गरी अहिलेसम्म एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हाे ।
भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज तथा काठमाडौं ल्याउने क्रम जारी छ ।
भूकम्प प्रभावितको उद्धार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेको छ । प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।